सर्लाही, २० असोज । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले पदीय हैसियतको दुरुपयोग गर्दै गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउन नहुने बताएका छन् ।

गृहमन्त्री गुरुङले लामो समयदेखि गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका केही पदाधिकारी तथा कर्मचारीबाट गोप्य सूचना चुहाउने प्रवृत्तिलाई नियालिरहेको बताएका हुन् ।

उनले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको स्पष्ट गर्दै पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने बताएका छन् ।

गुरुङका अनुसार प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्न सक्छ ।

राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान खेलबाड गरी देश र संगठनप्रति विश्वासघात गर्ने जोसुकैलाई पनि उन्मुक्ति नदिइने उनले चेतावनी दिएका छन् । ‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ,’ गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *