काठमाडौं, २१ असोज । इजरायलमा केयरगिभर रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी गरेको आरोपमा नेपाल प्रहरीले चार जनालाई पक्राउ गरी थप पीडितहरूलाई जाहेरी दिन आग्रह गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल सरकार र इजरायल सरकारबीच ‘जी टु जी’ प्रक्रियाअन्तर्गत सन् २०२४ मा सञ्चालित केयरगिभर परीक्षामा उत्तीर्ण भएर ‘होल्ड’ सूचीमा रहेका युवाहरू ठगीमा परेका हुन् ।
परीक्षामा कुल ३ हजार ४ सय ६१ जना उत्तीर्ण भएका थिए । तीमध्ये ‘होल्ड’मा रहेका १ हजार १ सय ५२ जनामध्ये पहिलो चरणमा १ सय ५६ जना युवालाई लक्षित गरी इजरायल पठाइदिने भन्दै ठगी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आरोपीहरूले आफूहरूको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनसँग चिनजान रहेको भन्दै पीडितलाई तत्काल इजरायल पठाइदिने आश्वासन दिएको र त्यसका लागि मन्त्रिपरिषद्बाट विशेष निर्णय गराइएको झुटो दाबी गरेको प्रहरीले जनाएको छ । साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका फर्जी कागजातसमेत देखाएर पीडितलाई विश्वासमा पारिएको प्रहरीको भनाइ छ ।
यसरी योजनाबद्ध रूपमा पीडितहरूबाट २ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरिएको आरोप छ । घटनाबारे विमल पराजुलीको जाहेरीका आधारमा नेपाल सरकारले वादी र भरतप्रसाद चौलागाईंलगायतलाई प्रतिवादी बनाएर ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ ।
प्रहरीले यस प्रकरणमा रामेछाप, सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरतप्रसाद चौलागाईंलगायत चार जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सीआईबीले उक्त प्रकरणमा विभिन्न किसिमले झुक्यानमा पारी आरोपीहरूबाट ठगिएका अन्य पीडितलाई पनि यथाशीघ्र जाहेरी दरखास्त दिन आग्रह गरेको हो ।
