सर्लाही, २१ असोज ।  सार्क–जापान विशेष कोषअन्तर्गत ‘जेनेसिस २०२६’ कार्यक्रम सञ्चालनका लागि काठमाडौँस्थित जापानी दूतावास र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) बिच थप सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

यस कार्यक्रमका लागि जापान सरकारले ३ करोड ४६ लाख ७ हजार जापानी येन उपलब्ध गराउने निर्णय गरेको हो ।

सम्झौता पत्रमा सार्कका महासचिव एमडी गोलाम सरवार र नेपालका लागि जापानी राजदूत माएदा तोरुले बुधबार हस्ताक्षर गरेका हुन् । जापान सरकारको वित्तीय सहयोगमा सञ्चालित यो सम्झौता लामो समयदेखि सञ्चालनमा रहेको जेनेसिस युवा आदानप्रदान कार्यक्रमको निरन्तरता हो ।

जेनेसिस २०२६ कार्यक्रमअन्तर्गत सन् २०२६ भित्र सार्क सदस्य राष्ट्रका करिब ४० जना युवालाई विपद् व्यवस्थापन र जलवायु परिवर्तन सम्बन्धी विषयमा अध्ययन तथा अवलोकनका लागि जापान लैजाने कार्यक्रम छ । स्वदेश फर्किएपछि ती युवाले जापानमा सिकेका उत्कृष्ट अभ्यासहरूलाई आफ्ना देशमा जलवायु अनुकूलन र विपद् पूर्वतयारीका लागि प्रयोग गर्ने अपेक्षा गरिएको छ ।

जापान सरकारद्वारा सार्क सचिवालयको सहयोगमा सञ्चालित जेनेसिस कार्यक्रमले सार्क राष्ट्रका युवाहरूलाई जापानको विकास मोडल, आर्थिक प्रगति, आधुनिक प्रविधि, समृद्ध सांस्कृतिक परम्परा र सामाजिक मूल्यमान्यताबारे प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *