सर्लाही, २३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर उम्मेदवारहरूको सूची प्रचार गरिएको भन्दै त्यसलाई आधिकारिक नमान्न आग्रह गरेका छन् ।
पार्टीमा कुनै प्यानल वा गुट नरहेको बताइरहेका थापाले आफ्नै नाममा सूची प्रचार भएपछि त्यसबारे स्पष्ट पारेका हुन् ।
केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेका बेला थापाले आफ्नो नाम जोडेर प्रचार गरिएका सूचीलाई समर्थन वा सिफारिसका रूपमा नबुझ्न प्रतिनिधिहरूलाई आग्रह गरेका छन् । उनले त्यस्ता सूचीका आधारमा भ्रममा नपर्न पनि भनेका छन् ।
‘मेरो नाम जोडेर आएको लिस्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन होला । कुनै पनि अफवाहमा नलाग्नुहोला,’ थापाले भनेका छन् ।
उनले यसपटक पार्टीमा कुनै पनि प्यानल वा गुट नरहेको उल्लेख गर्दै महाधिवेशनलाई स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रियाका रूपमा लिन आग्रह गरेका छन् ।
प्रतिनिधिहरूले कुनै भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्नुपर्ने उनको भनाइ छ ।
यसैबीच, बिहीबारका लागि तय गरिएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो भएको भन्दै थापाले प्रतिनिधिहरूमा परेको असुविधाप्रति क्षमा मागेका छन् ।
उनले महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासमा मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् । ‘मलाई विश्वास छ, तपाईंहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्याउनेछ,’ थापाले भनेका छन् ।
