अफगानिस्तानमा पोसाकसम्बन्धी नियम उल्लंघनको आरोपमा ५२ महिला पक्राउ

Byसदाम हुसैन

२०८३ आश्विन २३, शुक्रवार २०८३ आश्विन २३, शुक्रवार २०८३ आश्विन २३, शुक्रवार

काठमाडौं, २३ असोज । अफगानिस्तानका हेरात र काबुल सहरमा पोसाकसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा कम्तीमा ५२ महिला र एक बालिका पक्राउ परेका छन् । सन् २०२६ को जुलाईदेखि सेप्टेम्बर महिनाको अवधिमा उनीहरूलाई नियन्त्रणमा लिइएको संयुक्त राष्ट्रसंघले जनाएको छ । 

संयुक्त राष्ट्रसंघीय सहायता मिसन (युनामा)का अनुसार, चादर नलगाएको, कपाल देखिएको, रंगीन सल वा मेकअप प्रयोग गरेको तथा पुरुष अभिभावकबिना सार्वजनिक स्थानमा हिँडेको आरोपमा उनीहरूलाई हिरासतमा लिइएको हो ।

पक्राउ परेका महिलाहरूलाई केही घण्टा नियन्त्रणमा राखेपछि रिहा गरिएको मिसनले उल्लेख गरेको छ । यद्यपि, घटनाका सबै विवरणहरू बाहिर नआएकाले पीडितको वास्तविक संख्या योभन्दा धेरै हुन सक्ने युनामाको अनुमान छ ।

महिलाहरूलाई पक्राउ गर्ने, हिरासतमा राख्ने र धम्की दिने जस्ता कार्यप्रति गम्भीर चिन्ता व्यक्त गर्दै युनामाले यसले महिला तथा बालिकाहरूको स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने, अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत स्वायत्तताको अधिकार हनन गरेको जनाएको छ । साथै, यस्ता घटनाले परम्परागत अफगानी समाजमा महिलाहरूलाई गम्भीर सामाजिक लाञ्छनाको जोखिममा पार्ने मिसनको ठहर छ ।

यसअघि गत जुन महिनामा हेरातमा पोसाक नियमको विरोधमा भएको एक दुर्लभ प्रदर्शनका क्रममा अफगानी सुरक्षाकर्मीले गोली चलाएका थिए । प्रत्यक्षदर्शी र युनामाका अनुसार, उक्त घटनामा कम्तीमा एकजनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए ।

सन् २०२१ मा अमेरिकी नेतृत्वको सेना फिर्ता भएसँगै अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबान सरकारले महिला तथा बालिकाहरूमाथि कडा प्रतिबन्धहरू लगाउँदै आएको छ । हाल त्यहाँ बालिकाहरूलाई प्राथमिक तहभन्दा माथिको शिक्षा हासिल गर्न रोक लगाइएको छ । उनीहरूको पोसाक, आवतजावत र सार्वजनिक जीवनमा सहभागितालाई समेत सीमित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *