सर्लाही, २३ असाेज । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच आर्थिक वर्ष २०८३/८४ का लागि पहिलोपटक कार्यसम्पादन सम्झौता भएको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार महतो र प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साहबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । गाउँपालिका स्थापना भएको १० वर्षपछि पहिलोपटक यस्तो सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय तहमा सुशासन प्रवर्द्धन, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा जिम्मेवारी र उत्तरदायित्वलाई स्पष्ट पार्ने उद्देश्यले कार्यसम्पादन सम्झौता गरिएको गाउँपालिकाको भनाइ छ ।

संघीय शासन प्रणालीलाई थप सबल बनाउने, स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धि गर्ने तथा पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाउने लक्ष्यसहित सम्झौता गरिएको बताइएको छ ।

सम्झौतामा बजेट तथा कार्यक्रम कार्यान्वयन, कानुन तथा कार्यविधि निर्माण, अनुगमन तथा मूल्याङ्कन, अभिलेख व्यवस्थापन, प्रतिवेदन पेस गर्ने लगायतका विषय समेटिएका छन् ।

सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रण तथा कार्यसम्पादनको नियमित समीक्षा गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।

सम्झौतापछि प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष महतोले कार्यसम्पादन सम्झौताले गाउँपालिकाको कामकारबाहीलाई थप व्यवस्थित, पारदर्शी र नतिजामुखी बनाउन सहयोग पुग्ने बताए ।

“चन्द्रनगर गाउँपालिकामा सुशासन र उत्तरदायित्वलाई संस्थागत गर्न यो महत्वपूर्ण कदम हो,” उनले भने, “जनताले अनुभूति गर्ने गरी सेवा प्रवाहमा सुधार ल्याउने, विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्ने र प्रशासनिक संयन्त्रलाई थप जिम्मेवार बनाउने उद्देश्यले कार्यसम्पादन सम्झौता गरेका हौं ।”

उनले स्थानीय तहको लक्ष्य, योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जनप्रतिनिधि र कर्मचारीबीच समन्वय र सहकार्य अझ बलियो हुने विश्वास व्यक्त गरे ।

स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच आर्थिक वर्षको सुरुमै कार्यसम्पादन सम्झौता गर्ने व्यवस्था रहे पनि अधिकांश स्थानीय तहमा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *