सर्लाही, २४ असाेज । दिल्लीमा शनिबार ककरोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा पश्चिम बंगालका पूर्वमुख्यमन्त्री ममता बनर्जी, केरलाका पूर्वमुख्यमन्त्री पिनाराई विजयन र त्रिपुराका पूर्वमुख्यमन्त्री माणिक सरकारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यसअघि जन्तर मन्तरनजिकैबाट झन्डै हजार जना सीजेपी समर्थकलाई पक्राउ गरिसकिएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ ।
यस्तै सीजेपीका संस्थापक अभिजित दीपके, आशुतोष रान्का र सौरभ दासलाई दिल्ली विमानस्थलमा ओर्लिनेबित्तिकै पक्राउ गरिएको छ भने युट्युबर ध्रुव राठीलाई पनि उनको गुरुग्राम घरबाटै प्रहरीले हिरासतमा लिएको छ ।
यस क्रममा केही पत्रकारलाई समेत प्रहरीले पक्रेको छ ।
जन्तर मन्तर पुग्ने प्रयास गरिरहेका प्रदर्शनकारीलाई रोक्न ब्यारिकेड लगाइएको थियो। सवारीसाधन रोक्न सडकमा किला गाडिएका छन् । केही प्रदर्शनकारीले ब्यारिकेड पनि तोडेका छन् ।
भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै ककरोच पार्टीले राजधानी दिल्लीका जन्तरमन्तर र कनट प्लेसमा बिहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन् ।
आन्दोलन थप चर्किंदै गएको छ । ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबिच झडप भइरहेको रिपोर्ट भारतीय सञ्चारमाध्यमले गरिरहेका छन् ।
