केवाइसी अपडेटको बहानामा ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

Byसदाम हुसैन

२०८३ आश्विन २७, मंगलवार २०८३ आश्विन २७, मंगलवार २०८३ आश्विन २७, मंगलवार

सर्लाही, २७ असोज । बैंक तथा डिजिटल वालेटको केवाइसी अद्यावधिक गर्ने बहानामा करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा रौतहट प्रहरीले भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहारस्थित सीतामढी जिल्लाका २४ वर्षीय मोहम्मद साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र रौतहटको गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन् । उनीहरूलाई असोज २३ गते गौर नगरपालिका–३ को पोखरिया टोल र वडा नं. ५ को कोइरी टोलबाट नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेका तीनै जनालाई सार्वजनिक गरेको हो । प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार घटनासम्बन्धी २२ वटा उजुरी प्राप्त भएका छन्। ती उजुरीका आधारमा ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको छ ।

प्रहरीका अनुसार आरोपितहरूले बैंक वा ई–सेवाका कर्मचारी भएको भन्दै फोन तथा ह्वाट्सएपमार्फत सेवाग्राहीलाई सम्पर्क गर्ने गरेका थिए। त्यसपछि भिडियो कल, स्क्रिन सेयर र गुगल फारममार्फत बैंकिङ विवरण लिएर खाताबाट रकम निकाल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

रौतहट प्रहरीले उनीहरूको साथबाट एक लाख ६२ हजार २१० रुपैयाँ नेपाली नगद, सात थान मोबाइल, ११ वटा सिमकार्ड, ३० वटा बैंक भौचर, एटीएम कार्ड, चेकबुकलगायत सामग्री बरामद गरेको जनाएको छ ।

घटनामा अन्य व्यक्तिको संलग्नता तथा ठगी भएको रकमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *