बिहारको राघोपुरमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

Byसदाम हुसैन

२०८३ आश्विन २८, बुधवार २०८३ आश्विन २८, बुधवार २०८३ आश्विन २८, बुधवार

काठमाडौं, २८ असोज । भारतको बिहार राज्यस्थित वैशाली जिल्लाको राघोपुर क्षेत्रमा गङ्गा नदीमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु भएको छ । मंगलबार राति भएको उक्त दुर्घटनामा सात जनाको उद्धार गरिएको छ भने उद्धार तथा खोजी कार्य रातभर जारी राखिएको अधिकारीहरूले बताएका छन् ।

स्थानीय बासिन्दाहरूका अनुसार गाउँलेहरू भोजमा सहभागी हुन अर्को गाउँतर्फ जाँदै थिए । भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतमा पर्ने माता महारानी स्थाननजिक सिंहेश्वर रायको घरमा भोज आयोजना गरिएको थियो । त्यसमा सहभागी हुन करिब २० जना एउटा सानो निजी डुङ्गामा सवार भएका थिए ।

वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार डुङ्गामा सवार सबै बालबालिकाको उमेर १५ वर्ष वा सोभन्दा कम थियो । उद्धार गरिएका सात जनालाई उपचारका लागि नालन्दा मेडिकल कलेज तथा अस्पताल पठाइएको थियो । उनीहरूमध्ये केहीलाई थप उपचारका लागि पटना रिफर गरिएको उनले बताइन् ।

जिल्ला अधिकारी सिंहका अनुसार मंगलबार राति करिब ८ः३० बजे दुर्घटना भएको थियो । उनले भनिन्, ‘सानो निजी डुङ्गामा १५ देखि २० जना बालबालिका यात्रा गरिरहेको सूचना प्राप्त भएको थियो । उनीहरू छिमेकी गाउँमा भोजमा सहभागी हुन जाँदै थिए । अहिलेसम्म सात जनाको उद्धार गरिएको छ र उद्धार अभियान जारी छ ।’

उनका अनुसार घटनास्थलमा राज्य विपत्‌ प्रतिकार्य बल (एसडीआरएफ) का टोली र स्थानीय गोताखोर परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *