सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु, तीन जना घाइते

Byसदाम हुसैन

२०८३ आश्विन २८, बुधवार २०८३ आश्विन २८, बुधवार २०८३ आश्विन २८, बुधवार

सर्लाही, २८ असाेज । सर्लाहीको कबिलासी नगरपालिका–१० स्थित चमेलीमाई मन्दिर नजिक नवलपुर-मलंगवा सडक खण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

सलेमपुरबाट चमेलीमाई मन्दिरतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०२९ प २३१५ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा कबिलासी नगरपालिका–१० निवासी ४५ वर्षीया मन्जु देवी झाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सोही स्थानका रामबाबु झाकी ४५ वर्षीया श्रीमती पुष्पा देवी झा, २९ वर्षीय रुपेश झा र मोटरसाइकल चालक कबिलासी नगरपालिका-९ अर्गवा निवासी ३२ वर्षीय राजु मण्डल घाइते भएका थिए ।

दुर्घटनापछि चारै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । टाउको, छाती तथा शरीरका विभिन्न भागमा चोट लागेकी मन्जु देवी झाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज पठाइएको थियो । अस्पतालमा पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मन्जु देवीको शव पोस्टमार्टमपछि आज दिउँसो २:१५ बजे मृतकका श्रीमान् नबोध झाले बुझेर लगेको विवरणमा उल्लेख छ।

दुर्घटनामा घाइते पुष्पा देवी झाको टाउको, छाती, हातखुट्टामा चोट लागेको छ । उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज लगिएको थियो ।

त्यस्तै, रुपेश झाको बायाँ तिघ्रामा चोट लागेको थियो। मलंगवास्थित प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि उनी डिस्चार्ज भएर घर फर्किएका छन् ।

मोटरसाइकल चालक राजु मण्डलको आँखा र टाउकोमा चोट लागेको थियो । प्रारम्भिक विवरणअनुसार उनको अवस्था मध्यम रहेको थियो । उनलाई थप उपचारका लागि जनकपुर पठाइएकोमा प्रादेशिक अस्पताल जनकपुरबाट जानकी हेल्थ केयरमा रिफर गरिएको विवरणमा उल्लेख छ ।

प्रहरीको प्रारम्भिक विवरणअनुसार मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको आशंका गरिएको छ । उनीसँग सवारीसाधनका आवश्यक कागजातसमेत नभएको जनाइएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *