सर्लाही, २९ असाेज । गत आर्थिक वर्ष ०८२/८३ को अन्तिम त्रैमासमा नेपालको आर्थिक वृद्धिदरमा सुधार आएको छ । गत आवको चौथो त्रैमास (वैशाख–असारसम्म)मा नेपालले ४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ ।
कार्यालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा ०.७ प्रतिशत विन्दुले आर्थिक वृद्धिदर बढेको हो ।
गत आवको पहिलो त्रैमासमा ३.३ प्रतिशत, दोस्रो त्रैमासमा ४.१ प्रतिशत र तेस्रो त्रैमासमा ३.३ प्रतिशतको वृद्धिदर हुने कार्यालयको अनुमान छ । यसअघि कार्यालयले गत आवमा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान गरिसकेको छ ।
चौथो त्रैमासमा ४ प्रतिशतको वृद्धि हुनुमा विद्युत् उत्पादन, प्रसारण तथा वितरण, निक्षेप संकलन तथा ऋणप्रवाह, निर्जीवन बिमा प्रिमियम कलेक्सन, आवास तथा भोजन सेवालगायतका क्रियाकलापमा भएको वृद्धि मुख्य कारण रहेको कार्यालयले जनाएको छ ।
‘समग्रमा यस त्रैमासमा प्रस्तुत गरिएका कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षाबाहेक अन्य औद्योगिक वर्गीकरणमा धनात्मक वृद्धिदर रहेको अनुमान गरिएको छ’ प्रतिवेदनमा उल्लेख छ ।
