सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलो बढी गाँजा बरामद

Byसदाम हुसैन

२०८३ कार्तिक २, सोमवार २०८३ कार्तिक २, सोमवार २०८३ कार्तिक २, सोमवार

सर्लाही, ०२ कार्तिक । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ । त्यस्तै, भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट ब्राउनसुगर र प्रतिबन्धित औषधिका ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि इटहरीबाट विराटनगरतर्फ जाने कोशी राजमार्गमा गाँजा बोकेको एम्बुलेन्स गुडिरहेको सूचना प्राप्त भएको थियो ।

त्यसपछि इलाका प्रहरी कार्यालय दुहबी र सीआरभी दुहबीको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा दुहबी–६ स्थित बूढी खोलाको किनारमा गाँजासहितको एम्बुलेन्स फेला पारेको हो ।

‘नेपाल–भारत सहयोग’ लेखिएको स्टिकर टाँसिएको ना.४ च ६०६३ नम्बरको एम्बुलेन्समा गाँजा भेटिएको प्रहरीले जनाएको छ। एम्बुलेन्सका चालक र गाँजा तस्करीमा संलग्न व्यक्ति भने फरार छन् ।

उक्त एम्बुलेन्स कुन संस्थाबाट सञ्चालित थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरी स्रोतका अनुसार एम्बुलेन्समा नक्कली नम्बर प्लेट प्रयोग गरिएको वा सामान्य सवारीसाधनलाई एम्बुलेन्सको स्वरूप दिएर प्रहरीलाई छल्ने प्रयास गरिएको हुन सक्ने आशंका छ ।

यसैगरी, सोमबार बिहान ९ बजे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ निवासी अर्सद अन्सारीको घरमा पार्किङ गरिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा प्रहरीले ३ ग्राम ६३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ ।

प्रहरीका अनुसार मोटरसाइकलबाट ७२ ट्याब्लेट स्पाज्मो र ९० ट्याब्लेट नित्जासेसीनसमेत बरामद भएको छ । ब्राउनसुगर र ट्याब्लेट लुकाएर राखिएको अवस्थामा बीआर ३८ एजे ७३१२ नम्बरको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ ।

अन्सारीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी, इनरुवाको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *