काठमाडौं, ०५ कार्तिक । रुस र युक्रेनबीच शान्ति वार्ता पुन: सुरु गर्ने विषयमा कूटनीतिक पहल भइरहेका बेला युक्रेनको राजधानी किएभमा रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । बुधबार राति भएको आक्रमणमा कम्तीमा ६ जना घाइते भएका छन् ।

युक्रेनसँग शान्ति वार्ता पुन: सुरु गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा रुस सहमत भएलगत्तै किएभमा क्षेप्यास्त्र प्रहार भएको बीबीसीले जनाएको छ ।

किएभका मेयर भिटाली क्लित्स्कोका अनुसार आक्रमणमा केही घरमा क्षति पुगेको छ ।

यसैबीच, ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र उनका ज्वाइँ जारेड कुश्नरको सक्रियतामा युद्ध अन्त्य गर्ने विषयमा कूटनीतिक छलफल अघि बढाइएको छ ।

विट्कफले बुधबार रुसको सेन्ट पिटर्सबर्गमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए । त्यसको एक दिनअघि उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि छलफल गरेका थिए । मंगलबार नर्वेको राजधानी ओस्लोमा भएको भेटवार्तामा युक्रेनको सुरक्षाका लागि बलियो प्रत्याभूति र ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने प्रस्तावबारे छलफल भएको जेलेन्स्कीले बताएका छन् ।

तर, पुटिनका सहयोगी युरी उशाकोभले प्रस्तुत विचारहरू खासै उपयोगी नभएको टिप्पणी गरेका छन् ।

नोभेम्बर १० आसपास अबुधाबीमा वार्ता हुन सक्ने

रुस, युक्रेन र अमेरिकाका अधिकारीहरूबीच युद्ध अन्त्य गर्ने उद्देश्यले यसअघि पनि विभिन्न चरणमा वार्ता भएका थिए । तर, फेब्रुअरीमा त्रिपक्षीय वार्ता रोकिएपछि रुसले युक्रेनमाथि आक्रमण तीव्र बनाएको छ । युक्रेनले क्षेप्यास्त्र प्रतिरक्षाका लागि पश्चिमी मुलुकबाट प्राप्त अवरोधक क्षेप्यास्त्रको अभाव झेलिरहेको छ ।

सेन्ट पिटर्सबर्गमा भएको पछिल्लो छलफलपछि उशाकोभले आगामी नोभेम्बर १० आसपास संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा अर्को चरणको वार्ता हुन सक्ने संकेत गरेका छन् ।

उनका अनुसार वार्ताको मुख्य विषय युद्ध अन्त्य भएपछि रुस र युक्रेनका लागि सुरक्षा प्रणाली निर्माण गर्नु हुनेछ ।

उशाकोभले पुटिनले रुसी सेना युद्धमोर्चाका विभिन्न क्षेत्रमा अघि बढिरहेको र रणनीतिक पहल आफ्नै पक्षमा रहेको दाबी गरेको पनि बताए । तर, युक्रेन र उसका युरोपेली सहयोगीहरूले रुसी पक्षको उक्त दाबी अस्वीकार गर्दै युद्धमोर्चामा खासै ठूलो परिवर्तन नभएको बताएका छन् ।

अहिलेको युद्धमोर्चालाई स्थिर राख्न जेलेन्स्की तयार

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वर्तमान युद्धमोर्चालाई आधार बनाएर युद्धविराम गर्न आफू तयार रहेको बताएका छन् ।

‘हामी यसलाई युद्धविराम वा हत्या रोक्ने प्रक्रिया भन्छौँ । अहिलेका लागि रुसबाट हामीले चाहेको न्यूनतम कुरा यही हो,’ उनले बुधबार फक्स न्युजसँग भनेका छन् ।

उनले युद्धविरामपछि युक्रेनको सुरक्षाको प्रत्याभूतिबारे छलफल गर्न सकिने पनि बताएका छन् ।

अमेरिकी विशेष दूत विट्कफले पुटिनसँगको छलफललाई रचनात्मक भनेका छन् । भिडियोमार्फत सहभागी कुश्नरले भने युद्ध अन्त्य गर्न अझै धेरै काम बाँकी रहेको उल्लेख गर्दै दीर्घकालीन शान्ति, सुरक्षा र समृद्धिको आधार तयार गर्ने अवसर रहेको बताएका छन् ।

ट्रम्प र युक्रेनबीच बढ्दो मतभेद

शान्ति वार्ताको पहल भइरहे पनि युक्रेन र अमेरिकी प्रशासनबीचको सम्बन्धमा तनाव बढिरहेको छ ।

राष्ट्रपति ट्रम्पले युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको र युद्ध अन्त्यका लागि युक्रेनको तर्फबाट अरू कसैले वार्ता गर्नुपर्ने टिप्पणी गरेका छन् । उनले इरानविरुद्ध अमेरिकाको नेतृत्वमा भइरहेको युद्ध सुरु भएयता बढेको इन्धनको मूल्यका लागि रुसी तेल प्रशोधन केन्द्रमाथि युक्रेनले गरेका आक्रमणलाई पनि दोष दिएका छन् ।

रुसमाथिका प्रतिबन्ध खुकुलो पारेर ठूलो परिमाणमा डिजेल अमेरिकी तथा विश्व बजारमा बिक्री गर्न अनुमति दिएको विषयमा पनि ट्रम्पको आलोचना भएको छ । केही साताअघि मात्रै रुसको तेल तथा ग्यास आयात गर्ने मुलुकमाथि नयाँ प्रतिबन्ध र भन्सार शुल्क लगाउने कानुनलाई उनले समर्थन गरेका थिए ।

ट्रम्पको निर्णयप्रति जेलेन्स्की र युरोपेली सहयोगीहरूले असन्तुष्टि जनाएका छन् ।

गत साता युक्रेनले रुसी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहारबारे नागरिकलाई पूर्वसूचना दिन आवश्यक अमेरिकी गुप्तचर सूचना उपलब्ध नगराइएको आरोप लगाएको थियो । त्यसका कारण धेरै सर्वसाधारणको ज्यान गएको युक्रेनी पक्षको दाबी थियो ।

तर, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार उक्त आरोपलाई ‘लज्जास्पद’ भन्दै अस्वीकार गरेका थिए । ओस्लोमा भएको छलफलपछि जेलेन्स्कीले भने अहिले गुप्तचर सूचना आदानप्रदान भइरहेको बताएका छन् ।

यसैबीच, युक्रेनी सेनाले अमेरिकी स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकमा लगाइएको गति सीमाले रुसमाथि ड्रोन आक्रमण गर्ने क्षमतामा असर परेको गुनासो गरेको छ । अमेरिकी अधिकारीहरूले आफूहरूले त्यस्तो गति सीमा लगाउन अनुरोध नगरेको बताएका छन् । अमेरिकी सिनेटका दुवै प्रमुख दलका केही सांसदले यस विषयमा तत्काल अनुसन्धान गर्न माग गरेका छन् ।

अमेरिकी नागरिक रिहा

पुटिन र विट्कफबीच वार्ता सुरु हुनुअघि रुसले ७४ वर्षीय अमेरिकी नागरिक स्टेफन हबर्डलाई रिहा गरेको थियो । युक्रेनको पक्षबाट लडेको आरोपमा उनलाई करिब सात वर्षको जेल सजाय सुनाइएको थियो ।

ट्रम्पले हबर्ड घर फर्किरहेको र उनको रिहाइका लागि कुनै कैदी साटफेर आवश्यक नपरेको बताएका छन् । विट्कफले हबर्डको रिहाइका लागि सहमति दिएको भन्दै पुटिनलाई ‘मानवीय’ व्यक्तिका रूपमा वर्णन गरेका थिए ।

बीबीसीका एक पत्रकारले उक्त वर्णनसँग सहमत हुनुहुन्छ भन्ने प्रश्न गर्दा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकी नागरिकलाई परिवारसँग पुनर्मिलन गराउन कूटनीतिज्ञले सकारात्मक भाषा प्रयोग गर्नु स्वाभाविक भएको जवाफ दिएका थिए ।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको थियो । हाल रुसको नियन्त्रणमा युक्रेनी भूभागको करिब २० प्रतिशत क्षेत्र रहेको छ । ट्रम्पले पटकपटक युद्ध अन्त्य गर्न सक्ने बताउँदै आए पनि अहिलेसम्म युद्ध रोक्ने सहमति हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *