भारतमा परिवारले बिहे गर्न नदिएपछि टावर चढिन् युवती

Byसदाम हुसैन

२०८३ कार्तिक ७, शनिवार २०८३ कार्तिक ७, शनिवार २०८३ कार्तिक ७, शनिवार

भारत, ०७ कार्तिक । भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा प्रेमीसँग विवाह गर्न पाउनुपर्ने माग राख्दै एक युवती मोबाइल फोनको टावरमा चढेकी छन् । 

शुक्रबार बिहान टावरमा चढेकी १९ वर्षीया युवतीलाई तीन घण्टाभन्दा बढी समयपछि अनलाइन निकाह गराएर तल झारिएको हो । युवती मेहक र उनका प्रेमी नूरुद्दीन पाँच महिनादेखि प्रेम सम्बन्धमा थिए । तर, दुवैको परिवारले उनीहरूको विवाह गर्न सहमति दिएका थिएनन् ।

नूरुद्दीन दुई महिनाअघि कामका लागि मुम्बई गएका थिए । शुक्रबार बिहान मेहकले विवाहको विषयमा आमासँग फेरि विवाद गरेकी थिइन् । त्यसपछि उनी घरबाट निस्किएर गाउँबाहिर रहेको मोबाइल टावरमा चढिन् । गाउँलेहरूले उनलाई तल झर्न आग्रह गरे पनि उनले प्रेमीसँग विवाह नगरेसम्म नझर्ने अडान लिइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार घटनाबारे जानकारी पाएपछि दुवै परिवार, प्रहरी र गाउँले घटनास्थल पुगेका थिए। महिला प्रहरीसहितको टोलीले पनि युवतीलाई तल झर्न आग्रह गरेको थियो। तर, उनी आफ्नो माग पूरा नभएसम्म टावरबाट नओर्लिने अडानमा रहिन् ।

अन्ततः गाउँलेहरूले दुवैको विवाह गराउने निर्णय गरे । त्यसपछि गाउँको मस्जिदका काजीलाई बोलाइयो । काजीले मुम्बईमा रहेका नूरुद्दीनसँग फोनमा कुरा गरे र विवाहका लागि उनको सहमति लिए। त्यसपछि टावरमा रहेकी मेहकसँग पनि फोनमार्फत कुरा गरेर निकाह स्वीकार गर्न लगाइयो ।

दुवैले विवाह स्वीकार गरेको निश्चित भएपछि मेहक तल झर्न तयार भइन्। महिला प्रहरीको सहयोगमा उनलाई सुरक्षित रूपमा तल झारियो ।

यद्यपि, मेहककी आमाले विवाहपछि पनि उक्त सम्बन्धप्रति असहमति जनाइन्। उनले ‘मलाई यो सम्बन्ध स्वीकार्य छैन । छोरी अझै त्यही केटासँग बस्न चाहन्छे भने घर छोड्न सक्छे’ भनेकी थिइन् ।

त्यसपछि प्रहरीले मेहक र उनका परिवारका सदस्यलाई प्रहरी चौकी लगेर परामर्श दिएको थियो। परामर्शपछि मेहकलाई आमासँगै घर पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकीका प्रमुख ब्रह्मानन्द गौरले यो प्रेम सम्बन्धसँग जोडिएको घटना भएको बताए। उनका अनुसार युवती प्रेमीसँग विवाह गर्न जिद्दी गर्दै टावर चढेकी थिइन् ।

निकाह सम्पन्न भएपछि उनलाई तल झारिएको हो । अहिलेका लागि उनलाई परिवारसँग घर पठाइएको छ। उजुरी आएमा थप कारबाही गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *