सर्लाही, ०७ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण नजिकिएसँगै त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान भव्य रुपमा सिंगारिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा पर्सि कात्तिक ९ गतेदेखि शुरु हुने प्रतियोगिता यस पटक थप भव्य र व्यवस्थित हुने अपेक्षा गरिएको छ । त्यसैअनुसार क्यानले तयारी अन्तिम चरणमा पुर्याएको छ ।
एनपीएलको तेस्रो संस्करणका लागि मुख्य पिचको स्तरोन्नति, आउटफिल्ड व्यवस्थापन, प्यारापिट विस्तार, भीआईपी बक्स, फ्लडलाइट, डिजिटल टिकट तथा प्रसारणका लागि आवश्यक पूर्वाधार तयार पारिएका छन् । ड्रेसिङ रुम, खेलाडी डगआउट र प्रेस बक्सलाई समेत व्यवस्थित बनाइएको छ।
साथै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता पाएसँगै प्रतियोगिताको चर्चा बढेको छ । फ्रेन्चाइज टोलीले बढीमा आठ विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् । साथै यस पटक डीआरएस प्रविधि लागू हुने भएको छ । यसले खेललाई निष्पक्ष र थप रोमाञ्चक बनाउँछ । खेलाडीमा सही निर्णयप्रति विश्वास बढ्छ भने दर्शकलाई प्रविधिको प्रयोग र निर्णय परिवर्तन हुने क्षणले थप उत्साह प्रदान गर्छ।
दुई संस्करणको सफलतापछि एनपीएलप्रति दर्शकको आकर्षण बढ्दो छ । प्यारापिटमा सिट थपिए पनि दर्शकको बढ्दो चाप आयोजकका लागि चुनौती बनेको छ। मैदान तयार छ, समर्थक उत्साहित छन् । कीर्तिपुर क्रिकेटको रौनक छाउने प्रतीक्षामा छ ।
