मलङ्गवाको हनुमान मन्दिरमा चोरी गर्ने दुई नाबालक पक्राउ

Byसदाम हुसैन

२०८३ कार्तिक ८, आइतवार २०८३ कार्तिक ८, आइतवार २०८३ कार्तिक ८, आइतवार

सर्लाही, ०८ कार्तिक । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका-८ स्थित हनुमान मन्दिरमा चोरी गरेको आरोपमा प्रहरीले दुई जना नाबालकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आज बिहान करिब ३ बजे मन्दिरमा चोरी भएको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा १६ र १३ वर्षका दुई नाबालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नाबालक भएकाले उनीहरूको नाम गोप्य राखिएको छ ।

मन्दिरका पुजारीले दिएको जानकारीअनुसार चोरीमा हनुमानजीको मूर्तिमा लगाइएको चाँदीको मुकुट, माला, टीका तथा मूर्तिको मुख र अनुहारमा लगाइने विभिन्न चाँदीका गरगहना र दानपेटिकामा रहेको यकिन नभएको रकमसमेत चोरी भएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये एक जना यसअघि पनि चोरीको घटनामा संलग्न भई बाल सुधार गृहमा बसेर छुटेको खुलेको छ ।

हालसम्मको अनुसन्धानबाट उक्त घटना धार्मिक वा साम्प्रदायिक भावनालाई लक्षित गरी नभई चोरी गर्ने उद्देश्यले भएको देखिएको प्रहरीले जनाएको छ ।

घटनामा अन्य व्यक्तिको संलग्नता भए – नभएको विषयमा समेत अनुसन्धान भइरहेको र संलग्नता पुष्टि भएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीले घटनालाई लिएर धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न सबैमा आग्रह गरेको छ । त्यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत प्रहरीले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *