सर्लाही, ०९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटनमा प्रधानमन्त्री वालेन्द्र शाह सहभागी हुने भएका छन् ।
आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने एनपीएलको उद्घाटनमा प्रधानमन्त्री शाह सहभागी हुने भएका हुन् ।
एनपीएल आजदेखि सुरु हुन लागेको छ । उद्घाटन खेलमा बेलुका ५ बजे साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालबाट पनि प्रतियोगिता सफलताको शुभकामना दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता, नेपाल प्रिमियर लिग आजबाट सुरु हुँदै छ र यो केही वर्षमै एक ठूलो खेलकुद प्रतियोगितामा परिणत भएको छ । लिगमा सामेल हुने सबै अन्तर्राष्ट्रिय खेलाडीहरू, कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ र यस सुन्दर कार्यक्रमको लागि सबै नेपाली खेलाडीहरू, आयोजकहरू र क्यानलाई शुभकामना । नेपाली क्रिकेट अमर रहोस् ।’
