भोटेकोशी बाढीले रोकिएको दुईमहिनापछि बंगलादेशमा बिजुली निर्यात पुनः सुरु

Byसदाम हुसैन

२०८३ कार्तिक ९, सोमवार २०८३ कार्तिक ९, सोमवार २०८३ कार्तिक ९, सोमवार

सर्लाही, ०९ कार्तिक । रसुवा भोटेकोशी बाढीले रोकिएको करिब दुई महिनापछि बंगलादेशमा पुनः विद्युत् निर्यात सुरु भएको छ ।

भारतले अघिल्लो साता २५ मेगावाटको काबेली बी–१ र २३ मेगावाटको सोलुखोला जलविद्युत् आयोजनालाई स्रोत देखाएर बंगलादेशमा विद्युत् निर्यात गर्न अनुमति दिएको थियो । त्यसपछि शुक्रबारदेखि बंगलादेशमा विद्युत् निर्यात भएको हो ।

यद्यपि, यो वर्ष बंगलादेश विद्युत् निर्यात गर्ने अवधि अब कात्तिक २९ गतेसम्म मात्रै छ । नेपालले १५ जुनदेखि १५ नोभेम्बर (असारदेखि कात्तिक)सम्म बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता छ । त्योअनुसार यो वर्ष आगामी २९ कात्तिक (१५ नोभम्बर)सम्म विद्युत् निर्यात गर्न पाउँछ ।

बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न स्रोतका रूपमा देखाइएको २४ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्र १० भदौको बाढीले बगाएसँगै बंगलादेशतर्फको विद्युत् निर्यात पनि ठप्प भएको थियो ।

त्यसलगत्तै सोलु खोला र काबेली–१ परियोजनाको विद्युत् बंगलादेश निर्यात गर्न सहमति माग्दै नेपाल विद्युत् प्राधिकरणले भारतलाई पत्र पठाएको थियो । तर, भारतले लामो समयसम्म त्यसमा सहमति पठाएन ।

जबकि, ती दुई आयोजनाको बिजुली भारतमा बिक्री गर्न भने पहिले नै अनुमति थियो । तर, त्यही बिजुली बंगलादेश निर्यात गर्न भारतले अनुमति दिन अस्वाभाविक रूपमा ढिलाइ गरेको हो । 

प्राधिकरणले भारतीय प्रसारणलाइन हुँदै असारदेखि कात्तिकसम्म (वर्षको पाँच महिना) बंगलादेशमा निरन्तर ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ ।

भारतले बंगलादेशमा निर्यात गरिने नेपाली बिजुलीका लागि पनि परियोजना नै तोकेर सहमति ल्याउनुपर्ने सर्त राखेको छ । भारतले आफ्नो प्रसारणलाइन प्रयोग हुने भन्दै यस्तो सर्त लागू गरेको थियो । 

सोही सर्तअनुसार यसअघि २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रबाट १८.६० मेगावाट र २२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रबाट २१.४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने गरी भारतबाट अनुमति लिइएको थियो । तर, १० भदौको रसुवा बाढीले उक्त दुवै परियोजना बन्द भएका छन् ।

नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारणलाइन हुँदै बंगलादेश निर्यात गर्ने गरी १७ असोज ०८१ मा त्रिपक्षीय सम्झौता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *