एक जना केन्द्रीय सदस्यलाई काठमाडौं बस्ने अवस्था आउन दिन्नँ : गगन थापा

Byसदाम हुसैन

२०८३ कार्तिक १०, मंगलवार २०८३ कार्तिक १०, मंगलवार २०८३ कार्तिक १०, मंगलवार

सर्लाही, १० कार्तिक । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका केन्द्रीय सदस्यहरूलाई अब जिम्मेवारीसहित गाउँ–गाउँमा पठाइने बताएका छन् । पोखराहुँदै स्याङ्जा पुगेका सभापति थापाले मंसिर महिनाभर अभियान सञ्चालनको प्रस्ताव पनि गरेका छन् । 

पहिले कांग्रेस रहेका तर पछिल्लो समय अर्कै पार्टीलाई मतदान गरेकाहरूलाई पुनः पार्टीमा जोड्न संवाद आवश्यक रहेको र त्यसका लागि मंसिर महिनाभर अभियान सञ्चालन तयारी रहेको सभापति थापाले बताए ।

‘एक जना पनि केन्द्रीय सदस्य साथीलाई काठमाडौं बस्ने अवस्था आउन दिन्नँ, सबैलाई तल पठाउने हो, गाउँ–गाउँमा । अब चुनावको उम्मेदवार माथिबाट छान्दैन, जुन तहको निर्वाचन हो त्यही तहका साथीहरूले उम्मेदवार तय गर्ने हो ।

यो कुरा विधानमै व्यवस्था गरिएको छ । उम्मेदवार हुन चाहने र पार्टीका नेताहरू केन्द्रतिर बसिराख्ने होइन, तलतल जाने हो,’ उनले भने । 

उनले १५ औँ महाधिवेशनमा पराजित भएका तथा महाधिवेशन प्रक्रियाबाट बाहिर रहेका सबैलाई समेट्दै अघि बढ्ने पनि बताएका छन् ।

सभापति थापाले कार्यशैली र सोच बदल्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे । सभापति वा नेताहरू आउँदा कार्यकर्ताहरू खादामालासहित विमानस्थल आउने गरेको भन्दै उनले यसो नगर्न आग्रह गरे ।

‘हामीले निर्देशिका नै बनाएर पठाएको छ, नेता आउँदा लाइन लगाएर खादामाला लिएर विमानस्थलमा स्वागत गर्न आउने होइन,’ आज बीपी स्मृति पुस्तकालय पोखराले गरेको कार्यक्रममा सभापति थापाले भने, ‘नेतालाई स्वागत गर्न आउनेको भिड देख्दा पनि मानिसहरूलाई दिक्क लाग्छ होला नि !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *