सर्लाही, १० कार्तिक । सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र निर्माणलाई प्रोत्साहन गर्न विशेष अनुदान दिने भएको छ । मन्त्रालयले कार्यविधि स्वीकृत गर्दै सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई ९५ लाख रुपैयाँसम्मको अनुदान दिने गरी प्रस्ताव आह्वान गरेको हो ।
हालै मात्र ‘सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणको लागि प्रोत्साहन अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत भएको छ ।
सोही अनुरूप योग्य व्यक्ति तथा संस्थाहरूबाट आवेदन आह्वान गरेको हो । यस योजनाअन्तर्गत एउटै चलचित्रले कथा लेखन (स्क्रिप्टिङ), छायाङ्कन (प्रोडक्सन) र सम्पादन (पोस्ट प्रोडक्सन) गरी तीनवटै विधामा गरी अधिकतम ९५ लाख रुपैयाँसम्म अनुदान प्राप्त गर्न सक्नेछन् ।
मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार तीन फरक-फरक शीर्षकमा अनुदान उपलब्ध गराउनेछ। जसअनुसार प्रति स्क्रिप्ट लेखनका लागि बढीमा ५ लाख रुपैयाँसम्म अनुदान दिइनेछ । यस्तो अनुदान अधिकतम ५ वटा चलचित्रले पाउन सक्नेछन् ।
प्रोडक्सन (छायाङ्कन) का लागि अधिकतम ३ वटा चलचित्रलाई अनुदान दिइने बताइएको छ । यस शीर्षकमा प्रति चलचित्रले बढीमा ७० लाख रुपैयाँ अनुदान पाउन सक्नेछन् ।
यसैगरी पोस्ट प्रोडक्सन (सम्पादन तथा प्राविधिक काम) का लागि प्रति चलचित्र बढीमा २० लाख रुपैयाँ अनुदान दिइनेछ। यो शीर्षकमा भने अधिकतम ५ वटा चलचित्र छानिन सक्नेछन् ।
अनुदानका लागि छनोट हुन चलचित्रले निश्चित मापदण्ड र सर्तहरू भने पूरा गरेको हुनुपर्नेछ । राष्ट्रिय महत्वका ऐतिहासिक घटनाक्रम, भौगोलिक क्षेत्र, प्राकृतिक सौन्दर्य, सार्वभौमसत्ता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक विविधता जस्ता विषयवस्तुलाई मौलिक तथा सिर्जनात्मक रूपमा प्रस्तुत गरिएको हुनुपर्नेछ ।
स्क्रिप्ट लेखक नेपाली नागरिक हुनुपर्नेछ भने निर्माता वा निर्देशकले कम्तीमा दुईवटा चलचित्र निर्माण वा निर्देशन गरेको स्व-घोषणा गर्नुपर्नेछ ।
चलचित्रको समयावधि कम्तीमा ९० मिनेटको हुनुपर्नेछ भने छायाङ्कन कम्तीमा फोके प्रविधिको क्यामराले गरेको हुनुपर्नेछ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी चलचित्रको काम गर्न भने पाइने छैन ।
अनुदानको रकमबाट कुनै पनि उपकरण वा सामाग्री खरिद गर्न पाइने छैन । चलचित्रको स्क्रिप्ट नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ ।
इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रथम पटक प्रकाशित भएको मिति (२०८३ कार्तिक १० गते) ले २१ दिनभित्र मन्त्रालयमा तोकिएको ढाँचामा आवेदन पेस गरिसक्नुपर्नेछ ।
आवेदनको साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपिका साथै चलचित्रको कथा, पटकथा र संवादसहितको पूर्ण स्क्रिप्ट र सोको डिजिटल (सफ्ट) कपी पेस गर्नुपर्नेछ ।
यसैगरी प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा स्क्रिप्ट दर्ता भएको प्रमाण, प्रोडक्सन र पोस्ट प्रोडक्सनको हकमा चलचित्र विकास बोर्डबाट निर्माण अनुमति, विस्तृत कार्ययोजना र अनुमानित लागत विवरण समेत संलग्न राख्नुपर्नेछ ।
यस बाहेक संस्था वा कम्पनी दर्ता, स्थायी लेखा नम्बर (प्यान/भ्याट) दर्ता, करचुक्ता प्रमाणपत्रका साथै मुख्य प्राविधिक तथा कलाकारहरूको व्यक्तिगत विवरण (बायोडेटा) पनि निवेदन साथ समावेश गर्नुपर्नेछ ।
प्राप्त आवेदनहरूको मूल्याङ्कन सञ्चार मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित मूल्याङ्कन तथा छनोट समितिले गर्नेछ । समितिले सिफारिस गरेका र सम्झौता भएका आवेदकलाई सुरुमा २० प्रतिशत रकम पेस्की/अग्रिम उपलब्ध गराइनेछ ।
बाँकी रकम सम्झौताका सर्त अनुसार कार्य प्रगति सम्पन्न भई चलचित्र विकास बोर्डको सिफारिस प्राप्त भएपछि किस्ताबन्दीमा भुक्तानी गरिनेछ । आवेदन फाराम र विस्तृत विवरणका लागि मन्त्रालयको वेबसाइट हेर्न सकिनेछ ।
