आरोप पुष्टि गर्न लक्ष्मेश्वरलाई एसपी खड्काको चुनौती

Byसदाम हुसैन

२०८३ कार्तिक १०, मंगलवार २०८३ कार्तिक १०, मंगलवार २०८३ कार्तिक १०, मंगलवार

सर्लाही, १० कार्तिक । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काले आफू र प्रहरी संगठनमाथि लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित जिल्ला सभापति भनिएका हंसपुर नगरपालिका–८ का लक्ष्मेश्वर यादवले एक कार्यक्रममा प्रहरीमाथि लगाएको आरोपप्रति कडा आपत्ति जनाउँदै एसपी खड्काले आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।

मंगलबार जारी प्रेस विज्ञप्तिमार्फत एसपी खड्काले आफूमाथि लगाइएका आरोपलाई आपत्तिजनक, कपोलकल्पित, भ्रामक, अपमानजनक र तथ्यहीन भन्दै खण्डन गरेका छन् ।

उनले प्रहरीको मर्यादामा आँच पुर्‍याउने उद्देश्यले गरिएको टिप्पणीप्रति आपत्ति जनाउँदै आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।

प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिअनुसार, यादवले परिवारकी एक महिला सदस्य हराएको भन्दै २०८३ जेठ १७ गते जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।

प्रहरीले बुझ्ने क्रममा ती महिला हराएको नभई काठमाडौं जिल्ला अदालतबाट २०८३ वैशाख ८ गते नै विवाहको नाता कायम भएको पाइएको जनाएको छ ।

ती महिला जेठ १४ गते आफ्ना पतिसँग गएको विषयमा समेत निवेदक र परिवारका सदस्यलाई जानकारी गराइएको प्रहरीको दाबी छ ।

यादवले हजारौँ मानिस ल्याएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने धम्की दिएकोसमेत प्रहरीले आरोप लगाएको छ ।

प्रहरीका अनुसार, घटनाको वास्तविकता बुझाएर जानकारी गराइसकिएको अवस्थामा प्रहरीमाथि लगाइएका आरोप निराधार छन् ।

एसपी खड्काले प्रहरी संगठनको व्यावसायिकता, इमानदारी र नागरिक सेवाप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउने गरी गरिएको टिप्पणीको विरोध गरेका छन् ।

उनले आफूविरुद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिँदै भ्रामक सामग्री सामाजिक सञ्जालमा जथाभावी प्रसार नगर्न आग्रह गरेका छन् ।

प्रहरीले आरोप पुष्टि गर्ने आधार प्रस्तुत गर्न चुनौती दिनुका साथै घटनासम्बन्धी विषयमा प्रचलित कानुनबमोजिम उपचारको प्रक्रियामा जाने चेतावनीसमेत दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यालय प्रमुख एसपी खड्काले जारी गरेको विज्ञप्तिमा प्रहरी संगठन र व्यक्तिगत मर्यादामाथि आँच पुर्‍याउने आरोपको प्रतिवाद गर्दै कानुनी प्रक्रियाबाट अघि बढ्ने स्पष्ट सन्देश दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *