सर्लाही, १० कार्तिक । गाँजाको स–साना पुरिया बनाएर बिक्रीवितरण गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथ तथा घरबाट कुल ४५३ ग्राम गाँजा बरामद गरिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका– ९ बरमझियाका ३२ वर्षीय अब्दुल रहमानले आफ्नै घरमा गाँजाको साना पुरिया बनाई प्रतिपुरिया १०० रुपैयाँमा स्थानीय युवालाई बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो ।
सोही क्रममा इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ करिब ६ बजे रहमानको घरमा खानतलासी गर्दा बिक्रीका लागि तयार पारिएका कागजका ५५ वटा पुरियामा राखिएको ३६० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
गाँजासहित पक्राउ परेका रहमानमाथि लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । यसैगरी, जनकपुरधाम उपमहानगरपालिका–२० रूपैठाका ३५ वर्षीय रामललित साहलाई पनि गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
साहलाई १४ वटा पुरियामा राखिएको ९३ ग्राम गाँजासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार दुवै घटनामा पक्राउ परेका व्यक्तिमाथि लागुऔषधसम्बन्धी अनुसन्धान भइरहेको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मिति र स्थानबाट बरामद गरेका भन्सार छलीका सामानहरू आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाएको छ ।
धनुषा प्रहरीका अनुसार प्रहरी टोलीले विभिन्न स्थानमा नियन्त्रणमा लिएका ३ लाख २२ हजार रुपैयाँ मूल्य बराबरको लताकपडासहित मोटरसाइकललगायतका सामग्री भन्सारमा बुझाएको हो ।
प्रहरीले अवैध रूपमा भन्सार छली गरी सामान ओसारपसार गर्ने गतिविधि नियन्त्रण गर्न निगरानी तथा चेकजाँचलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
