सर्लाही, ११ कार्तिक । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २३ अक्टोबर २०२६ मा नयाँदिल्लीमा दिएको अभिव्यक्तिले नेपालको सार्वजनिक वृत्तमा राष्ट्रवादको अर्थ, यसको राजनीतिक प्रयोग र भारतसँगको सम्बन्धलाई लिएर पक्ष–विपक्षमा बहस जन्माएको छ । नेपालमा राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर व्याख्या गर्ने राजनीतिक भाष्यको युग अब समाप्त भएको छ, डा. वाग्लेको भनाइको सार यही थियो ।
अहिले सामाजिक सञ्जालमा यस विषयमा अनेक दृष्टिकोण सार्र्वजनिक भएका छन् । कमल थापा लगायत नेताहरू, कनकमणि दीक्षित र युवराज घिमिरे लगायतका भारतलाई नजिकबाट बुझेका पत्रकारदेखि अभिनेता राजेश हमालसम्मले अर्थमन्त्रीको उक्त टिप्पणीप्रति असहमति जनाएका छन् । असहमति जनाउनेहरूको सूची लामै छ ।
यता अर्थमन्त्रीको अभिव्यक्तिको समर्थन गर्नेहरू पनि छन् । कसैले यसलाई बदलिंदो भूराजनीतिक यथार्थ अनुकूल नेपालको आर्थिक कूटनीतिलाई अघि बढाउने संकेतका रूपमा लिएका छन् भने कसैले भारतसँगको परम्परागत शंका र विरोधको दृष्टिले मात्र नहेरी व्यावहारिक ढंगले अघि बढाउनुपर्ने आवश्यकतासँग जोडेर व्याख्या गरेका छन् ।
म यस बहसलाई राजनीतिक सञ्चार, कर्पाेरेट शक्तिको विस्तार, सार्वजनिक धारणाको निर्माण र नेपाल–भारत सम्बन्धभित्र विकसित भइरहेका सम्भावित रणनीतिक स्वार्थहरूको अन्तरसम्बन्धबाट अगाडि बढाउन चाहन्छु ।
सुरुआत गरौं, मिडियाले आयोजना गर्ने कन्क्लेभको प्रसंगबाट । यस्ता कन्क्लेभका आफ्नै विषयवस्तु, एजेन्डा, कार्यक्रमको संरचना, प्रस्तुति शैली र अतिथि छनोटका आधार हुन्छन् । कुन विषयमा बहस गर्ने, कसलाई आमन्त्रण गर्ने, कसलाई कस्ता प्रश्न सोध्ने र समग्र कार्यक्रमलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा यसको योजनाबद्ध संरचनाभित्र पर्छ । यसलाई कार्यक्रमको कोरियोग्राफीका रूपमा पनि बुझ्न सकिन्छ । भारतमा इन्डिया टुडे म्यागजिनले लामो समयदेखि इन्डिया टुडे कन्क्लेभ आयोजन गर्दै आएको छ । एनडीटीभीले पनि यस्तै संवादमूलक कार्यक्रम आयोजना गर्दै आएको छ ।
मूल कुरा के हो भने, यो एउटा मिडियाले आयोजना गरेको कार्यक्रम हो । यसको प्रकृति बुझ्न नेपालमा हिमालय टेलिभिजन वा इमेज च्यानलले आयोजना गर्ने विशेष कार्यक्रमसँग तुलना गरेर हेर्न सकिन्छ । मानौं, हिमालय टेलिभिजनले आयोजना गरेको कुनै कार्यक्रममा भारतीय मन्त्री सहभागी भएर नेपाल–भारत सम्बन्ध बारे आफ्नो धारणा राख्छन् । के त्यसैका आधारमा भारतको नेपाल नीतिमा परिवर्तन आएको निष्कर्ष निकाल्न मिल्छ ? अवश्य मिल्दैन ।
त्यसैले यसको प्राइमा फेसी अर्थात् प्रथम दृष्टिमा देखिने वास्तविकता के हो भने यो मूलत: एउटा मिडिया इभेन्ट हो । तर यहाँ मुद्दा डा. वाग्लेले के भने भन्ने मात्र होइन उनले आफ्नो विचार अभिव्यक्त गर्न कुन मञ्च रोजे वा उनलाई कुन मञ्च उपलब्ध गराइयो भन्ने पनि हो ।
यसको राजनीतिक अर्थ बुझ्न एनडीटीभीका कार्यक्रम र त्यहाँ वाग्लेलाई गरिएको मिडिया पोजिसनिङबाट हेरौं । तर त्यसभन्दा पहिले एनडीटीभी वास्तवमा कस्तो सञ्चारमाध्यम हो, यसको सम्पादकीय स्वतन्त्रता तथा राजनीतिक भूमिका बारे कस्ता प्रश्न उठायो भन्ने दृष्टिकोणबाट हेरौं ।
सन् २०२२ अघिको एनडीटीभी र आजको एनडीटीभी बीचको सबैभन्दा ठूलो भिन्नता यसको स्वामित्वमा आएको परिवर्तन हो । प्रणय रोय र राधिका रोयले जग बसालेको तत्कालीन एनडीटीभी भारतमा सत्तालाई निर्भीक प्रश्न गर्ने र स्वतन्त्र पत्रकारिताको खम्बा मानिने बलियो सञ्चारमाध्यम थियो ।
विशेषगरी रविश कुमार जस्ता पत्रकारले आफ्नो धारिलो प्रस्तुति मार्फत यसको आलोचनात्मक र जनपक्षीय छविलाई स्थापित गरेका थिए । तर, सन् २०२२ को अन्त्यतिर कर्पाेरेट टाइकुन गौतम अडानी समूहले एनडीटीभीको नियन्त्रण आफ्नो हातमा लिएपछि यसको संस्थागत चरित्र र सम्पादकीय स्वतन्त्रता बारे गम्भीर प्रश्न उठ्न थाले ।
यो टेकओभर लगत्तै संस्थापक रोय दम्पती सञ्चालक समितिबाट बाहिरिन बाध्य भए र प्रणालीगत दबाबका बीच रविश कुमारले पनि च्यानलबाट राजीनामा दिए । एनडीटीभीको स्वामित्व अधिग्रहणको बहसमा गौतम अडानीको विशाल आर्थिक सामर्थ्य र राजनीतिक पहँुचलाई अलग राखेर हेर्नै मिल्दैन ।
फोर्ब्सको हालैको प्रतिवेदन अनुसार अडानी र उनको परिवारको अनुमानित सम्पत्ति १११.७ अर्ब अमेरिकी डलर पुगेको छ, जसका कारण उनले मुकेश अम्बानीलाई समेत पछाडि पार्दै भारतकै सबैभन्दा धनी व्यक्तिको स्थान पुन: हासिल गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा प्रिय पात्र मानिने अडानीले अन्य विशाल पूर्वाधारका व्यवसायहरू हुँदाहुँदै प्रणय र राधिका रोयको टेलिभिजन च्यानल किन्नुको पछाडि व्यापारिक नाफा मात्र थिएन । बरु यसको मुख्य उद्देश्य भूराजनीतिक एजेन्डा सेटिङ र मिडिया नियन्त्रण नै थियो ।
त्यसैले, यहाँ गौतम अडानीको एनडीटीभी व्यवसायलाई समाचार बेच्ने सामान्य कारोबारका रूपमा मात्र बुझ्नु ठूलो भूल हुनेछ । आजको जटिल राजनीतिक अर्थतन्त्रमा मिडिया भनेको कर्पाेरेट लबिङ, रणनीतिक पीआर र बाह्य देशहरूमा समेत आफ्नो अनुकूलको राजनीतिक भाष्य निर्माण गर्ने सबैभन्दा प्रभावशाली औजार बन्दै गइरहेको छ ।
डा. स्वर्णिम वाग्ले जस्ता नेपाली नेताहरू यही रूपान्तरित मिडियाको मञ्चमा उभिएर राष्ट्रवादको नयाँ परिभाषा दिइरहँदा पर्दापछाडिको यो कर्पाेरेट राजनीतिक नेक्सस कहिले देखिन सक्छ भने कहिले ओझेलमा पर्न सक्छ ।
नेपालमा अडानी समूहले एनडीटीभी मिडिया, कर्पाेरेट लबिङ र जनसर्म्पकको माध्यमबाट आफ्नो उपस्थिति तथा प्रभाव विस्तार गर्न खोजेको सम्भावनालाई बुझ्न यसको क्रोनोलोजीलाई बुझौं ।
२७ अगस्ट २०२६ मा एनडीटीभी वर्ल्डले काठमाडौंमा आफ्नो संवाद शृंखला एनडीटीभी अन्विक्षा: आइडियाज एक्रस बोर्डस्को पहिलो कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहित परराष्ट्र मन्त्री शिशिर खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा तथा भारतका राजनीतिक, कूटनीतिक र सार्वजनिक व्यक्तित्व सहभागी थिए ।
काठमाडौंको पहिलो कार्यक्रमपछि एनडीटीभीले भारतीय कंग्रेसका दिग्गज सांसद शशि थरुरसँग वाग्लेको बौद्धिक शैली र अंग्रेजी भाषामाथिको पकडको तुलना गर्दै उनलाई नेपालका शशि थरुरका रूपमा बजारमा प्रस्तुत गर्यो । वाग्लेलाई नेपालको परम्परागत घेराभित्र सीमित अर्थमन्त्रीको औपचारिक भूमिका भन्दा बाहिर निकालेर, अन्तर्राष्ट्रिय दर्शकसमक्ष प्रस्तुत गर्न सकिने एक संवादक्षम, आधुनिक र बौद्धिक राजनीतिक व्यक्तित्वका रूपमा चित्रित गर्ने सचेत कर्पाेरेट ब्रान्डिङ थियो ।
यही मिडिया ब्रान्डिङको पृष्ठभूमिमा २३ अक्टोबर २०२६ मा ठीक, ५७ दिनपछि वाग्ले नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिटमा पुन: मुख्य वक्ताका रूपमा सहभागी भए । यसपटक उनको सत्रको शीर्षक नै रणनीतिक रूपमा तय गरिएको थियो– ‘प्रोक्सिमिटी टु प्रस्पेरिटी: द इन्डिया नेपाल अपरच्युनिटी’ ।
नेपाल र भारतको सम्बन्धलाई सञ्चारमाध्यमको प्रयोग गरेर कसरी एउटा निश्चित आर्थिक र रणनीतिक दृष्टिकोणमा ढाल्न सकिन्छ भन्ने कुराको यो एक नियोजित क्रोनोलोजी हो । यहाँ कुनै भ्रम पाल्नु आवश्यक छैन, अडानीको यो विशाल मिडिया मेसिनरीले डा. वाग्लेको प्राज्ञिक र बौद्धिक छविलाई आफ्नो क्रोनी एजेन्डाका लागि प्रयोग गर्यो, र वाग्लेले काठमाडौंको सत्ता–यात्रा सुरक्षित गर्न र आफ्नो राजनीतिक बजार विस्तारका लागि अडानीको मिडिया मञ्चको उपयोग गरे ।
एनडीटीभीको ‘डार्लिङ ब्वाई’ किन र कसरी बन्दैछन् स्वर्णिम वाग्ले ? एउटै सञ्चार संस्थाले नेपाल–भारत सम्बन्धका दुई महत्वपूर्ण मञ्चमा एउटै नेतालाई हतारहतार पुन: स्थान दिनुको भित्री सम्पादकीय तर्क के थियो ? काठमाडौंको मञ्चमा व्यापक राजनीतिक तथा कूटनीतिक सन्दर्भमा प्रस्तुत गरिएका वाग्ले नयाँदिल्ली पुग्ने बित्तिकै किन विशेष रूपमा विशुद्ध आर्थिक अवसरको भाषा र भारतविरोधी राष्ट्रवादको युग सकिएको घोषणा गर्ने भूमिकामा मात्र सीमित भए ? एउटा सचेत नेपालीलाई यी र यस्ता प्रश्न उठाउने हक छ ।
र, राजनीतिक अर्थशास्त्रको दृष्टिले पनि यस प्रसंगमा बहस र संशय गर्ने ठाउँ धेरै छन् । यहाँ अडानीको कर्पाेरेट स्वार्थ र स्वर्णिम वाग्लेको राजनीतिक महत्वाकांक्षा दुवैलाई सूक्ष्म रूपमा विश्लेषण गर्नु अनिवार्य छ ।
शुरु गरौं डा. वाग्लेको सत्ता र राजनीतिक महत्वाकांक्षाबाट, हार्वर्ड विश्वविद्यालय र लन्डन स्कूल अफ इकोनोमिक्सको शैक्षिक पृष्ठभूमि र संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गरेको अनुभवले उनलाई नेपाली राजनीतिको मैदानले सजिलै स्वीकार्यो । आफ्नो राजनीतिक यात्राको छवि निर्माणको प्रक्रियाप्रति उनी अत्यन्तै सचेत र चनाखो देखिन्छन् । वाग्लेको सार्वजनिक अभिव्यक्ति, मिडिया प्रस्तुति र राजनीतिक शैलीमा मिस्टर पर्फेक्सनिस्टको एउटा मेकओभर प्राय: भेटिन्छ ।
तर राजनीति सञ्चारमाध्यममा देखाइने पर्फेक्सनिस्ट छवि वा प्राज्ञिक भाषणले मात्र चल्दैन । नेपालको राजनीतिक धरातलमा टिक्न र शीर्ष स्थान हासिल गर्न दलीय समीकरण, कार्यकर्ता परिचालन र शक्तिकेन्द्रहरूको समर्थन अनिवार्य हुन्छ भन्ने यथार्थ उनले राम्ररी बुझेका छन् । त्यसैले उनी आफूमाथि लागेको पश्चिमा शक्ति राष्ट्रहरूद्वारा समर्थित नेता र अन्तर्राष्टिय दातृ निकायहरूको उत्पादन भन्ने ट्यागलाई जसरी पनि हटाउन चाहन्छन् । यही रणनीतिक छटपटी र रूपान्तरणको मुख्य कडीका रूपमा उनका पुराना भूराजनीतिक टिप्पणीहरू र हालै नयाँदिल्लीका मञ्चहरूमा भएका उनका अभिव्यक्तिहरू राजनीतिक वृत्तमा गम्भीर बहसका विषय बनेका छन् । विगतमा उनले दक्षिणएशियाको सामरिक सन्दर्भमा चर्चामा ल्याएको मुनरो डक्ट्रिन सम्बन्धी धारणा र हालै नयाँदिल्लीमा भारत विरोधमा आधारित राष्ट्रवादको युग सकियो भनी दिएको सार्वजनिक वक्तव्य यसै सिरिजको अंश हो ।
राजनीति तथा सामरिक विश्लेषकहरूको दृष्टिमा यी अभिव्यक्तिहरू नयाँदिल्लीको संस्थापन पक्षको सामरिक चासो र क्षेत्रीय सुरक्षा संवेदनशीलतालाई स्वीकार्न आफ्नाप्रति रहेको सम्भावित अविश्वास वा आशंका मेट्न र दक्षिण एशियाली शक्तिकेन्द्रसँग आफ्नो राजनीतिक विश्वसनीयता स्थापित गर्न चालिएका अत्यन्त सचेत र रणनीतिक कदमहरू हुन् । एउटा प्राज्ञिक अभिजात वर्गबाट व्यावहारिक राजनीतिज्ञ बन्ने यो संक्रमणकालीन यात्रामा वाग्लेले कसरी आफ्नो वैचारिक सिद्धान्त पूर्व निर्मित छवि र भूराजनीतिक दृष्टिकोणलाई सत्ताको समीकरणसँग सम्झौता र समायोजन गर्दैछन् भन्ने तथ्यलाई समयले विश्लेषण गर्नेछ ।
अब यस बहसको सबैभन्दा महत्वपूर्ण आर्थिक पक्षतर्फ आउनुपर्छ र त्यो हो गौतम अडानीको व्यावसायिक समूहको नेपालप्रतिको चासो ।
नेपाल, अडानी समूहको कर्पाेरेट साम्राज्य विस्तारको हाइ स्टेक्स ब्लुप्रिन्टको एउटा विशेष र रणनीतिक हिस्सा हो भनेर बुझ्न हार्वर्ड बिजनेस रिभ्यू पढिरहनुपर्दैन । हिंडनबर्ग रिसर्चको धक्कापछि आफ्नो अन्तर्राष्ट्रिय साखमा ध्यान दिइरहेको अडानी समूह नेपालमा आकर्षक हुनुका पछाडि तीन वटा संरचनात्मक कारण छन् ।
पहिलो, नेपालको नदी प्रणाली र जलविद्युत् सम्भावना । दोस्रो, भारतको विशाल विद्युत् बजारसँगको भौगोलिक निकटता । तेस्रो, नेपालमा उत्पादन हुने विद्युत्लाई भारत हुँदै बंगलादेशसम्म पुर्याउन सकिने सम्भावना । नेपालले सन् २०२५ जूनदेखि भारतीय प्रसारण सञ्जाल प्रयोग गरेर बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात शुरु गर्नुले यो क्षेत्रीय व्यापारिक मार्ग व्यवहारमा सम्भव भएको देखाएको छ ।
सन् २०२५ मा अडानी समूहका ग्लोबल रिलेसन्स प्रमुख शिशिर प्रियदर्शी नेपाल आएका बेला नेपाल–भारत उद्योग वाणिज्य संघले समूहलाई नेपालको ऊर्जा तथा पूर्वाधार क्षेत्रमा लगानीका अवसर खोज्न आग्रह गरेको थियो । त्यस क्रममा तत्कालीन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कासँग भेटघाटको व्यवस्था पनि गरिएको थियो ।
अब मूल राजनीतिक प्रश्नमा सीधै प्रवेश गरौं एनडीटीभीको त्यो मञ्च, यसको कर्पाेरेट स्वामित्व र यसको पछाडि रहेको शक्ति राजनीतिलाई अलग गरेर हेर्न मिल्दैन । डा. वाग्लेले अडानी समूहको प्रत्यक्ष स्वामित्वमा रहेको सञ्चारमाध्यममा उभिएर नेपाली राष्ट्रवादको औचित्यमाथि प्रश्न उठाउनु आफैंमा गम्भीर राजनीतिक विरोधाभास हो । नेपालको जलस्रोत, ऊर्जा व्यापार र रणनीतिक पूर्वाधारमा आक्रामक व्यावसायिक चासो राख्ने भारतीय कर्पाेरेट मिडिया मञ्चबाट नेपालको राष्ट्रवादलाई सतही ढंगबाट प्रस्तुत गर्नु गलत हो ।
र यहाँनिर बुझ्नुपर्ने कुरा के हो भने एनडीटीभी होस् या कुनै पनि कार्यक्रम, व्यक्तिगत रूपमा गौतम अडानीको व्यापारिक स्वार्थ र स्वर्णिम वाग्लेको राजनीतिक महत्वाकांक्षा बीचको लेनदेनको थलो बन्न सक्छ । तर निजी स्वार्थ र सत्ता–यात्राको मोलमोलाइका लागि नेपालको राष्ट्रियतालाई दाउमा राखी देशलाई ऐतिहासिक र भूराजनीतिक क्षति पुर्याउने कुनै नैतिक वा राजनीतिक हक वाग्लेलाई छैन ।
किनभने नयाँदिल्लीको एनडीटीभीको मञ्चमा वाग्लेले नेपालको परम्परागत भारत विरोधी राष्ट्रवादको युग सकिएको कुरा गर्दा त्यसको वित्तीय र सम्पादकीय साँचो सिधै गौतम अडानी समूहको हातमा जान्छ भन्ने कुराको बोध वाग्लेलाई थाहा नहुने कुरै थिएन । यो त्यही समूह हो, जसले नेपालको उड्डयन क्षेत्र (त्रिभुवन र निजगढ विमानस्थल) र जलविद्युत्को मुटु मानिएको १९०२ मेगावाटको मुगु कर्णाली तथा चिसापानी आयोजनाका लागि बालुवाटारदेखि होटलका कोठासम्म भित्री राजनीतिक र नीतिगत लबिङ चलाएको समाचार बनिसकेको थियो ।
त्यसैले त्यो फोरममा गएर नेपालको अर्थमन्त्री र पार्टीको उपसभापति समेत रहेका जिम्मेवार नेताले राष्ट्रवाद बोल्नु स्वार्थको द्वन्द्व हुन सक्छ । यसले वाग्लेको छवि नेपालका प्राकृतिक स्रोत छिमेकीको क्रोनी क्यापिटलिज्मको पोल्टामा बुझाउने नीतिगत सहजकर्ताका रूपमा सामाजिक सञ्जालमा चित्रण गरिरहेको छ ।
नेपाली राजनीतिको व्याकरण स्पष्ट छ । नेपालको राष्ट्रवाद वासिङटन, हार्वर्ड वा दिल्लीका कर्पाेरेट प्रयोगशालामा तयार पारिने कुनै सफ्टवेयर होइन । यो कालापानी, लिम्पियाधुरा र हाम्रा नदीनालाको जैविक सुरक्षासँग जोडिएको देशको सार्वभौम अस्तित्व हो । आफूमाथि लागेको पश्चिमा शक्ति समर्थित नेताको ट्याग हटाउने हतारो र नयाँदिल्लीको संस्थापन पक्षलाई रिझाएर काठमाडांैको सत्ता–यात्रा सुरक्षित गर्ने व्यक्तिगत महत्वाकांक्षाका लागि राष्ट्रवादको सौदाबाजी गर्ने छुट वाग्लेलाई छैन ।
यदि नयाँ पुस्ताका प्राज्ञिक नेताहरूले पनि देशको परराष्ट्र नीति र रणनीतिक हितको साँचो संसद् र नागरिक वृत्तबाट लुकाएर छिमेकी देशका मिडिया रुमबाट निर्देशित गराउने हो भने, यसले स्वर्णिम वाग्लेको व्यक्तिगत इमेज भन्दा नेपालको राष्ट्रियताको कोलाटरल ड्यामेज बढी हुन्छ ।
