भोटेकोशी बाढी :  झण्डै २६ प्रतिशत परिवारको बाढीअघिकै ठाउँमा फर्कने इच्छा

Byसदाम हुसैन

२०८३ कार्तिक ११, बुधवार २०८३ कार्तिक ११, बुधवार २०८३ कार्तिक ११, बुधवार

सर्लाही, ११ कार्तिक । भोटेकोशीको बाढीले क्षति गरेको दुई महिना बितिसकेको छ ।

गएको भदौ १० मा रसुवाको लाङटाङ हिमालमा रहेको हिमनदी र चट्टानी भूभाग ल्हेन्दे हिमनदीमा खस्दा ल्हेन्दे खोला–भोटेकोशी–त्रिशूली–नारायणीमा आकस्मिक रूपमा बाढी आएको थियो ।

भोटेकोशीको बाढीबाट ३ हजार ६७ घरधनीका ४ हजार १५१ वटा भवन संरचनामा क्षति पुगेको छ । क्षतिग्रस्त संरचनामध्ये झण्डै ३ हजार अर्थात् ७२.०१ प्रतिशत पूर्णरूपमा भत्किएका वा बगाएको छ । थप ५०८ वटा भवन संरचना माटो तथा लेदोले पुरिएका छन् ।

राष्ट्रिय योजना आयोगले गरेको विपद्पछिको आवश्यकता आँकलन (पीडीएन) अन्तर्गत पुनः प्रयोगको दृष्टिकोणले ७६.९५ प्रतिशत संरचनाहरू पूर्ण रूपमा प्रयोग गर्न नमिल्ने अवस्थामा छन् ।

घरमा पूर्ण क्षति पुगेका परिवारलाई भविष्यको स्थायी बसोबासको विकल्पबारे सोधपुछका क्रममा उनीहरूबाट मिश्रित प्रतिकृया प्राप्त भएको छ ।

९ सय ३९ परिवार अर्थात् ३०.६२ प्रतिशतले सरकारले जग्गा उपलब्ध गराए उपलब्ध हुने ठाउँमा बस्ने चाहना व्यक्त गरेका छन् । २५.९९ प्रतिशत अर्थात् ७९७ परिवारले बाढी अघिकै ठाउँमा फर्कने इच्छा देखाएका छन् ।

यसैगरी १९.२४ प्रतिशत (५९० परिवार) ले सरकारले सामूहिक आवासको व्यवस्था गरिदिएमा बस्न तयार रहेको बताएका छन् ।

त्यस्तै, १८.४२ प्रतिशत (५६५ परिवार) ले जिल्लाभित्र र ५.१८ प्रतिशत (१५९ परिवार)ले देशभित्रै आफ्नै स्वामित्वको अर्को जग्गामा बसोबास गर्ने विकल्प रोजेका छन् ।

घर, भवनहरू प्रयोग गर्न नमिल्ने गरी नष्ट भएको हुँदा ती परिवारको लागि सुरक्षित अस्थायी वा स्थायी बसोबास जस्तै सामूहिक आवास वा वैकल्पिक जग्गा व्यवस्थापन गराउनु मुख्य चुनौती रहेको छ ।

आफ्नै स्वामित्वमा घर भएको जग्गामा १३ अर्ब २६ करोड बराबरको क्षति र भवन निर्माण लागत ११ अर्ब ९५ करोड देखिन्छ । कतिपय बाढी प्रभावित जोखिम मोलेरै पुरानो थातथालोमा फर्किन पनि थालेका छन् ।

बाढी गएको दुई महिना बित्दा पनि विस्थापितको पुनःस्थापना अनिश्चित भएपछि उनीहरू पुरानै ठाउँमा फर्किन थालेका हुन् ।

सरकारले बाढीको उच्च जोखिम क्षेत्रमा पुनः बसोबास गर्न नमिल्ने हुँदा तत्कालै फर्केर बस्ने अवस्था नरहेको जनाएको छ । त्यस्तै पुरानै ठाउँमा फर्किने विकल्पसमेत नभएका परिवारको अवस्था अझ जटिल छ । विस्थापित कतिपय होल्डिङ सेन्टरमा बस्दै आएका छन् ।

बाढीबाट समग्रमा ४ खर्ब ८ अर्बको क्षति पुगेको र पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड आवश्यक पर्ने प्रारम्भिक अनुमान छ । गएको भदौ १० मा आएको भोटेकोशी बाढीले ७ हजार ३१६ घरपरिवार तथा प्रतिष्ठान प्रभावित भएको अध्ययनले देखाएको छ ।

सर्वेक्षणले बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखा गरी ४ जिल्लाका १५ पालिकामा ७ हजार ३ सय १६ घरपरिवार तथा प्रतिष्ठान प्रभावित भएको देखाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *