सर्लाही, १२ कार्तिक । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले सम्बन्धित पक्षसँग बयान मंसिर १ देखि १५ गतेसम्मको समय निर्धारण गरेको छ ।
आज सिंहदरबारमा बसेको अध्ययन उपसमितिको दोस्रो बैठकपछि संयोजक मनिष झाले अध्ययनका लागि आवश्यक तयारी गर्न कात्तिक ३० गतेसम्मको समय छुटाइएको बताए ।
अध्ययनपछि मंसिर १ देखि १५ गतेसम्म सम्बन्धित पक्ष तथा क्षेत्रगत विज्ञहरूसँग छलफल गरिने बताए ।
उनले भने, ‘उपसमितिको कार्यावधि दुई महिना अर्थात् मंसिर २० गतेसम्म तोकिएको छ। उपसमिति गठन भएको २० दिन बितिसकेको र बाँकी ४० दिनमध्ये सार्वजनिक बिदाका कारण करिब ३० दिन मात्रै काम गर्न सकिने अवस्था छ । हामीले कार्यावधि र कार्यविधि तोकिसकेका छौँ । आज कार्यसूचीमा काम गर्दै थियौँ। अन्तिम पाँच दिन प्रतिवेदन लेखनका लागि छुट्टाउने भन्ने विषयमा सहमति भएको छ।’
उपसमितिले कात्तिक ३० गतेसम्म पोशाक खरिदसम्बन्धी विषयमा अध्ययन गरी आवश्यक प्रमाण जुटाउने, सम्बन्धित पक्षलाई सोध्नुपर्ने प्रश्न तयार गर्ने र अनुसन्धानको आधार निर्माण गर्ने बताए ।
मंसिर १६ देखि २० गतेसम्म अन्तिम पाँच दिन प्रतिवेदन लेखनका लागि छुटाइएको बताए। अध्ययन उपसमितिको काम दोषी वा निर्दोष घोषणा गर्नु नभई तथ्य र प्रमाणका आधारमा निष्कर्ष निकालेर सिफारिससहितको प्रतिवेदन तयार गर्नु रहेको बताए ।
उनले थपे, ‘यो उपसमितिले अध्ययन गर्ने हो। अध्ययनले कहिल्यै निर्णय सुनाउँदैन। प्रतिवेदन लेख्ने, सिफारिस गर्ने र निष्कर्ष सुनाउने हो। निर्णय गर्ने अख्तियारी पूर्ण समितिलाई हुन्छ। अध्ययन पूरा नहुँदै कसैलाई दोषी करार गर्नु उचित हुँदैन। फलानो व्यक्तिले गल्ती गरेकै छ भने त अध्ययन र अनुसन्धान किन चाहियो हामीलाईरु त्यसैले हामी अहिले कुनै पनि ब्ल्याक एन्ड ह्वाइट अवधारणामा पुगेका छैनौँ। हामी अहिले ग्रे जोनमा छौँ र ग्रे जोनमा रहेर नै अध्ययन गर्न चाहन्छौँ ।’
