काठमाडौं , १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् ।
दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ ।
म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे दुर्घटना भएको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
स्पेनका रेल कम्पनी रेन्फे र इरियोले सञ्चालन गरेका रेल दुर्घटनामा परेका हुन् । रेन्फेका अनुसार उर्दा स्टेसन नजिक भएको ठक्करपछि इरियो रेलका पछाडिका दुई डिब्बा लिकबाट बाहिरिएका थिए ।
स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका दृश्यमा रेलमार्ग र नजिकैको भिरालो क्षेत्रमा रेलका टुक्रा छरिएको देखिएको छ । उद्धारकर्मीले दुर्घटनास्थलमा उद्धार कार्य गरिरहेका थिए भने केही यात्रु आफ्ना सामान बोकेर घटनास्थलबाट बाहिरिँदै गरेका देखिएका थिए ।
दुर्घटनापछि स्पेनको सिभिल गार्डले थप सुरक्षाकर्मी परिचालन गरेको थियो । ट्राफिक प्रहरी, हवाई निगरानी टोली, ड्रोन सञ्चालक र ठूला विपद्को अनुसन्धानमा विशेषज्ञता हासिल गरेका फरेन्सिक अनुसन्धानकर्तासमेत परिचालन गरिएको थियो ।
कास्टिला–ला मान्चा क्षेत्रका नागरिक सुरक्षा टोलीसँग समन्वय गरेर घाइतेको उद्धार, उपचार तथा राहत व्यवस्थापनको काम भएको अधिकारीहरुले जनाएका छन् ।
रेल पूर्वाधार व्यवस्थापन निकायले दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच दुवैतर्फ सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको जनाएको छ ।
प्रधानमन्त्री पेद्रो सान्चेज र स्वास्थ्यमन्त्री मोनिका गार्सियाले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
उनले उद्धार तथा आपत्कालीन सेवाका टोली प्रभावितको उद्धार र सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरेर घटनास्थलमा खटिएको पनि उल्लेख गरेका छन् ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनि घटनाप्रति दु:ख व्यक्त गर्दै पीडितसँग ऐक्यबद्धता व्यक्त गरेका छन् ।
