कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

Byसदाम हुसैन

२०८३ कार्तिक १३, शुक्रवार २०८३ कार्तिक १३, शुक्रवार २०८३ कार्तिक १३, शुक्रवार

सर्लाही, १३ कार्तिक । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को असर आज झन् धेरै देखिने मौसमविदले बताएका छन् । त्यसको असरले आज दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान छ ।

पानी पार्ने प्रणालीले शुक्रबार कोशी प्रदेशमा हल्का वर्षा भएको थियो । काठमाडौं उपत्यकामा पनि पानी छिट्याएको थियो । तर आज भने पानीको मात्रा थप बढ्ने र धेरै क्षेत्रमा फैलिने सम्भावना छ ।

नेपाल मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले ‘अर्नब’ चक्रवात कमजोर भइसके पनि सोको प्रभावले नेपालमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेकाले सजग हुनुपर्ने बताइन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि रातिसम्म कोशी र बागमतीका धेरै ठाउँमा भारी वर्षाको सम्भावना छ ।

यसको असर शनिबारदेखि क्रमश: कमजोर बन्दै जाने पूर्वानुमान छ ।

यसको प्रभाव रहँदासम्म उच्च हिमाली भेगमा हिमपात र तराई–पहाडमा वर्षा गराउने भएकाले उच्च सतर्कताका साथ रहन सबैलाई सरकारले अनुरोध गरेको छ ।

उच्च सतर्कतामा सरकार

‘अर्नब’ चक्रवातका कारण नेपालको हिमालदेखि तराईसम्मै प्रभाव देखिने भन्दै सरकारले सुरक्षा अंगहरुलाई हाई अलर्टमा राखेको छ । विशेष गरी उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम हुने भन्दै  थप सजग हुन भनिएकाे छ ।

विपद् प्रतिकार्य कमाण्ड पोष्टको विहीबार बसेको बैठकले जोखिम रहेका जिल्लामा जोखिमबारे निरन्तर सूचना लिइराख्न, सर्वसाधारणलाई सु–सूचित गर्न, पूर्वतयारी गर्न र आवश्यक परे प्रतिकार्यका लागि परिचालन हुन तम्तयार अवस्थामा रहन सम्बन्धित सबैलाई निर्देशन दिएको थियो ।

विपद् प्रतिकार्य कमाण्ड पोष्टको विहीबारको बैठक

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै हावाहुरी, चट्याङ, हिउँआँधीसहित ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै देशभरका हिमाली र उच्च पहाडी भेगमा पर्वतारोहण तथा पदयात्रा नगर्न भनेको छ । यदि ट्रेकिङमा गइसकेको भए सुरक्षित ठाउँमा बस्न र किसानहरुलाई यही कात्तिक १४ गतेसम्म धान नकाट्न पनि सुझाव दिइएको छ ।

महाशाखाका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहान करिब ८:१५ बजे भारतको आन्ध्रप्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो । जमिनमा प्रवेश गरेपछि यो उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै क्रमश: कमजोर हुँदै गएर गहिरो न्यूनचापीय प्रणाली (डीप डिप्रेसन) मा परिणत भएको छ । गहिरो न्यूनचापीय प्रणालीको प्रभावका कारण विहीबारदेखि नै नेपालभर बादल लागेको थियो ।

मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद पोखरेलका अनुसार अहिलेको प्रणालीको प्रभावले कात्तिक १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना पनि छ ।

वर्षा र हिमपातका कारण अघिल्लो दिनको तुलनामा चिसो बढेको महसुस भएको छ । जोखिमयुक्त स्थान तथा सडकछेउमा पहिरो जान सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले  आवश्यक पूर्वतयारी गर्न पनि महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई भनेको छ ।

यातायात व्यवसायीहरुलाई सम्बन्धित जिल्लाको प्रहरी र प्रशासनसँग समन्वय गरेर मात्र गाडी चलाउने/नचलाउने निर्णय गर्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *