भोटेकोसी करिडोरका सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला

Byसदाम हुसैन

२०८३ कार्तिक १३, शुक्रवार २०८३ कार्तिक १३, शुक्रवार २०८३ कार्तिक १३, शुक्रवार

सर्लाही, १३ कार्तिक । भोटेकोसी बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला पारेको नेपाली सेनाले जनाएको छ । 

शुक्रबार भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहेको बताए । सुरुङभित्र खोज तथा उद्धारका क्रममा ११औँ दिन एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको उनले जानकारी दिए । 

आयोजनामा कोरियन कम्पनीको स्वामित्व तथा कोरियन सब–कन्ट्र्याक्टरमार्फत काम भइरहेको थियो। त्यहाँ नेपाली र भारतीय कामदार कार्यरत थिए । आयोजनाको दुई वटा ठूला कामदार क्याम्पसहित ड्याम साइट, पावरहाउस र अन्य क्षेत्रमा काम भइरहेको थियो । 

सहायक रथी थापाले आयोजनाको ९.७ किलोमिटर लामो सुरुङको नक्सा प्राप्त गरेपछि दुई जना इन्जिनियरसँग समन्वय गरी खोज तथा उद्धारको कार्ययोजना बनाइएको बताए । हेडवर्क र अडिट क्षेत्र तथा पावरहाउस क्षेत्रमा गरी ठूलो सङ्ख्यामा कामदार कार्यरत थिए । 

उद्धार टोलीले प्रारम्भिक रेकीका क्रममा सुरुङभित्र प्रवेश गर्ने दुई वटा सम्भावित स्थान मात्रै फेला पारेको थियो। अन्य प्रवेश मार्गहरू अवरुद्ध थिए । नेपाली सेना, चिनियाँ र कोरियन टोलीले संयुक्त रूपमा खोजी तथा उद्धारको काम अघि बढाएका थिए । 

पावरहाउस क्षेत्रमा कार्यरत १२० देखि १३० जना कामदारमध्ये ११० जनालाई ४८ घण्टाभित्र हेलिकप्टरमार्फत उद्धार गरिएको उनले जानकारी दिए। उनकाअनुसार डिसेन्डर बेसिन क्षेत्रमा हेलिकप्टर अवतरण गर्न सम्भव थिएन । 

उद्धार टोलीले जोखिम मोलेर सुरुङभित्र प्रवेश गर्ने क्रममा अत्यधिक हिलो, साँघुरो बाटो र अक्सिजनको कमीको सामना गर्नुपरेको थियो। कतिपय ठाउँमा कम्प्रेसर मेसिनको सहायताले अवरोध हटाएर सुरुङभित्र प्रवेश गरिएको थियो । 

सहायक रथी थापाले सुरुङको माथिल्लो भागमा रहेको प्रोटेक्सन वर्कमा ढलानको काम भइरहेको स्थानबाट ११औँ दिन एक चिनियाँ नागरिकलाई सकुशल उद्धार गर्न सफल भएको बताए । 

त्यस्तै, अडिट–३ बाट अस्ट्रेलियन उद्धार टोलीको ड्रोनको सहायताले सुरुङभित्र करिब एक हजार सात सय मिटर अगाडिसम्मको अवस्था अध्ययन गरिएको थियो। त्यहाँ सुरुङ पूर्ण रूपमा अवरुद्ध भएको अवस्थामा भेटिएको थियो । 

खोजीका क्रममा हेडवर्क क्षेत्रमा ठूला मेसिन, मिक्सर, एक्स्काभेटर र ट्रकहरू थुप्रिएको अवस्थामा भेटिएको र त्यस क्षेत्रमा ३७ जनाको शव फेला परेको उनले जानकारी दिए । थापाका अनुसार सुरुङभित्रको अवस्था हेर्दा प्रारम्भिक झड्कामै ठूलो क्षति भएको हुनसक्ने देखिएको थियो । 

हाल पनि खोज तथा उद्धारको काम जारी रहेको उनले बताए। हेडवर्कबाट अडिट–३ हुँदै करिब १.७ किलोमिटर भित्रसम्म पुगे पनि त्यसपछिको क्षेत्रमा जान सक्ने अवस्था नरहेको उनको भनाइ छ । 

सुरुङको करिब चार किलोमिटर क्षेत्रमा २१ फिटको सुरुङमा १७ फिटसम्म पानी र लेदो जमेको अवस्थामा रहेको उनले जानकारी दिए। अडिट–१ क्षेत्रबाट विस्फोट गराएर पानी निकाल्न सकिन्छ कि भन्ने विषयमा आयोजना तथा इन्जिनियरिङ टोलीसँग छलफल भइरहेको पनि उनले बताए । 

हाल उक्त क्षेत्रमा नेपाली सेनाका ४२ जना जनशक्ति परिचालन गरिएको सहायक रथी थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *