प्रधानमन्त्री कार्यालयमा ‘सचिव बैठक’ बस्दै

Byसदाम हुसैन

२०८३ कार्तिक १६, सोमवार २०८३ कार्तिक १६, सोमवार २०८३ कार्तिक १६, सोमवार

सर्लाही, १६ कार्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार (आज) सचिव बैठक बोलाएको छ । कार्यालयले बिहान ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हलमा बैठक आयोजना गर्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सुशासन तथा राष्ट्रिय समन्वय महाशाखाले १२ कात्तिकमा पत्राचार गर्दै सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयका सचिव र सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको थियो ।

बैठकमा मुख्यतः सरकारका निर्णय कार्यान्वयनको अवस्था, चालु आर्थिक वर्षको कार्यप्रगति, बेरुजु फर्छ्योट तथा चाडपर्व लक्षित शान्ति सुरक्षा र बजार अनुगमनका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

कार्यालयले सार्वजनिक गरेको बैठकका ६ एजेन्डामध्ये ५ असोजमा सम्पन्न सचिव बैठकका निर्णय कार्यान्वयनको प्रगति समीक्षा पहिलो प्राथमिकतामा रहेको छ ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना कार्यान्वयनको पहिलो त्रैमासिक अवधिको प्रगति समीक्षा, बेरुजु फर्छ्योट तथा चाडपर्व लक्षित शान्ति सुरक्षा र बजार अनुगमनका विषयमा छलफल हुनेछ ।

यसैगरी, सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनसम्बन्धी निर्देशिका, २०८३ कार्यान्वयन गर्ने विषय पनि बैठकको एजेन्डामा समेटिएको छ । बैठकमा विविध विषयमा समेत छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *