ओटीपी नआउँदा नयाँ कम्पनी दर्ता ठप्प

Byसदाम हुसैन

२०८३ कार्तिक १७, मंगलवार २०८३ कार्तिक १७, मंगलवार २०८३ कार्तिक १७, मंगलवार

सर्लाही, १७ असोज । अनलाइन प्रणालीमा समस्या हुँदा कम्पनी रजिस्ट्रारको कार्यालयबाट हुने नयाँ कम्पनी दर्ता प्रक्रिया प्रभावित भएको छ ।

केही दिनदेखि अनलाइन प्रणाली मार्फत कम्पनी दर्ता गर्दा आवश्यक पर्ने ‘वान टाइम पासवर्ड’ (ओटीपी) मोबाइलमा नआउँदा सेवाग्राहीहरूको काम रोकिन पुगेको हो ।

कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार नयाँ कम्पनीको नाम प्रस्ताव गर्न र दर्ता प्रक्रिया अगाडि बढाउन प्रणालीले माग्ने ओटीपी अनिवार्य हुन्छ ।

तर, सूचना प्रविधि विभागको सर्भरमा आएको खराबीका कारण ओटीपी जेनेरेट नहुँदा दर्ता प्रक्रिया नै अगाडि बढ्न नसकेको कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना अधिकारी निर्माणकुमार कार्कीले बताए ।

सेवाग्राहीले कम्पनी दर्ताको काम नभएको भन्दै निरन्तर गुनासो गर्न थालेपछि कार्यालयले सूचना प्रविधि विभागको प्रणालीमा आएको समस्याका कारण ओटीपी नआएको बताएको छ ।

‘हाम्रो आन्तरिक प्रणालीमा पनि सामान्य समस्या नभएको होइन, तर मुख्यगरी कम्पनी दर्ता गर्दा सूचना प्रविधि विभागकै प्रणालीमा समस्या भएकाले ओटीपी नआएको हो,’ उनले अनलाइनखबरसँग भने, ‘अघिल्लो साता बिहीबार–शुक्रबारदेखि यो समस्या देखिएको थियो, लगातार तीन दिनसम्म ओटीपी नआएर कामै रोकियो, सोमबार केही समय खुलेर काम भए पनि फेरि समस्या दोहोरिएको छ ।’

प्रणाली पूर्णरूपमा बन्द नभए पनि बीचबीचमा चल्ने र रोकिने समस्या भइरहेको कार्कीले बताए । सफ्टवेयरमा प्राविधिक कुरा अपडेट वा परिमार्जन गर्दा यस्तो समस्या आएको हुन सक्ने उनको भनाइ छ ।

कम्पनी दर्ता प्रणालीमा आएको समस्या समाधानका लागि काम गरिरहेको र चाँडै नै प्रणाली पूर्णरूपमा सुरु भई कम्पनी दर्ताको काम नियमित हुने सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाडीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *