सर्लाही युवा सम्मेलनमा ४६ जनाले गरे रक्तदान

Byसदाम हुसैन

२०८३ कार्तिक १७, मंगलवार २०८३ कार्तिक १७, मंगलवार २०८३ कार्तिक १७, मंगलवार

सर्लाही, १७ कार्तिक । सर्लाही युवा सम्मेलन २०२६ को अवसरमा आयोजित वृहत् रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् ।

ईमप्याक्ट इनिसियटिभ नेपालको आयोजनामा सम्पन्न सम्मेलनअन्तर्गत लक्ष्मी ब्लड कनेक्ट्स (LBC Nepal) को संयोजनमा शनिबार मलङ्गवास्थित होटल दरबार इनमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको कार्यक्रममा ५ जना महिलासहित ४६ जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रमको उद्घाटन प्रेस मिडियाका संस्थापक अमलेश शर्मा र लक्ष्मी ब्लड कनेक्ट्सका अध्यक्षले स्वयं रक्तदान गरेर गरेका थिए । कार्यक्रममा विभिन्न समाजसेवी तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक एवं लक्ष्मी ब्लड कनेक्ट्सका अध्यक्ष कृष्णकुमार राउतले मधेश प्रदेशमा युवामाझ रक्तदानको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताए । रक्तदानप्रति सकारात्मक सोचको विकास गर्दै नियमित रक्तदान गर्ने संस्कृतिको निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

राउतका अनुसार दसैँ तथा तिहारजस्ता चाडपर्वका समयमा धेरै रक्तदाता आफ्नो घर तथा गाउँ फर्किने भएकाले देशका विभिन्न रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुने गरेको छ । यस्तो अवस्थामा बिरामीको उपचार प्रभावित हुन सक्ने भन्दै उनले स्वस्थ युवाहरूलाई नियमित रक्तदान गर्न आग्रह गरे ।

‘रक्तदान केवल सामाजिक सेवा मात्र नभई कसैको जीवन बचाउने अमूल्य योगदान हो,’ उनले भने।

आयोजकका अनुसार सम्मेलनको अवसरमा आयोजित रक्तदान अभियानले युवामा सामाजिक उत्तरदायित्व, मानवीय सेवा र रक्तदानप्रतिको सचेतना अभिवृद्धि गर्नुका साथै नेतृत्व विकास तथा नीति निर्माणमा युवाको भूमिकाबारे सकारात्मक सन्देश प्रवाह गरेको छ ।

कार्यक्रम ईमप्याक्ट इनिसियटिभ नेपाल र लक्ष्मी ब्लड कनेक्ट्सको संयुक्त आयोजनामा तथा प्रादेशिक अस्पताल मलङ्गवाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *