कतै हल्का वर्षा र हिमपात, कतै हुस्सुकुहिरो

Byसदाम हुसैन

२०८३ कार्तिक १८, बुधवार २०८३ कार्तिक १८, बुधवार २०८३ कार्तिक १८, बुधवार

सर्लाही, १८ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण आगामी तीन दिन देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी दिनहरुमा तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार (कार्तिक १८) कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भू-भागमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा पनि आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने छ ।

बुधबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने तथा अन्य भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

त्यस्तै, बिहीबार (कार्तिक १९) देशका हिमाली तथा पहाडी भू-भागमा र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ ।

शुक्रबार (कार्तिक २०) र शनिबार (कार्तिक २१) पनि देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ। दुवै दिन तराईका भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

शुक्रबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । शनिबार पनि देशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *