सर्लाही, १९ कार्तिक । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आजदेखि सुन र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्दैछ ।
बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुन-चाँदीका सिक्का खरिद-बिक्री हुनेछ ।
खरिद-बिक्रीको काम आज र भोलि दुई दिनसम्म हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले बताए ।
तिहारमा सुन-चाँदीका सिक्का वा धातु खरिद गर्दा शुभ हुने धार्मिक विश्वासका साथ मानिसहरुले यस्ता सिक्का खरिद गरी लक्ष्मीको रुपमा पूजा गर्ने भएकाले राष्ट्र बैंकले विशेष रुपमा बिक्री खुला गर्दछ ।
गत वर्ष राष्ट्र बैंकले सुन अभाव भएको भन्दै चाँदीका सिक्का मात्रै बिक्री गरेको थियो । यस वर्ष भने वाणिज्य बैंकबाट सुन खरिद गरी असर्फी पनि बिक्री गर्न लागेको हो ।
‘चाँदीको लक्ष्मी, गजलक्ष्मी र गणेशको छाप भएको सिक्का बिक्री गरिने छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक दाहालले भने, ‘यसपालि वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरेर त्यसैको असफर्फी बनाई सर्बसाधारणलाई बिक्री गर्न लागिएको हो ।’
एक व्यत्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका ३ वटासम्म चाँदीका सिक्का खरिद गर्न सक्ने उनले जानकारी दिए ।
असर्फी र मेडालियनको मूल्य सुन-चाँदीको सोही दिनको मूल्यका आधारमा तय हुनेछ । सिक्का उत्पादनमा लागेको खर्चसमेत जोडिने भएकाले सुन-चाँदीका सिक्का खरिद गर्दा सुन-चाँदीको प्रचलित बजार मूल्यभन्दा केही महँगो पर्ने राष्ट्र बैंकले जनाएको छ ।
सिक्का खरिद गर्न चाहनेहरुलाई नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुन राष्ट्र बैंकले भनेको छ । खरिदकर्ताले नगद वा क्युआरमार्फत भुक्तानी गर्नसक्ने राष्ट्र बैंकले जनाएको छ ।
