सर्लाही, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चक्रघट्टा गाउँपालिका समितिले गाउँपालिकाको विकास निर्माण, आर्थिक कारोबार तथा प्रशासनिक गतिविधिबारे जानकारी माग्दै प्रमुख प्रशासकीय अधिकृतसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

रास्वपा चक्रघट्टा गाउँपालिका समितिका सभापति एवं वडा नम्बर २ निवासी रौशन कुमार यादवले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष २०८२/०८३ का विभिन्न योजना तथा कार्यक्रमको प्रगति विवरण र आवश्यक कागजात उपलब्ध गराउन माग गरेका हुन् ।

ज्ञापनपत्रमार्फत गाउँपालिकास्तरीय योजनाहरूको प्रगति विवरण, गाउँपालिकाबाट खरिद गरिएका सामानको विवरण, करार तथा ज्यालादारी कर्मचारीसम्बन्धी विवरण माग गरिएको छ ।

त्यसैगरी, कृषि विद्युतीकरण कार्यक्रमको कार्यप्रगति, कार्यसम्पन्न स्थलको निरीक्षण मुचुल्कासहितको विवरण तथा चक्रघट्टा बजारमा रहेका पालिकाअन्तर्गतका सटरहरूबाट प्राप्त आम्दानीको विवरणसमेत माग गरिएको छ ।

यस्तै, करारका कर्मचारीलाई कुन आधारमा योजना तथा प्रशासन प्रमुखको जिम्मेवारी दिएर काममा लगाइएको हो भन्ने विषयमा समेत स्पष्ट जानकारी दिन ज्ञापनपत्रमा माग गरिएको छ ।

गाउँपालिकाको विकास निर्माण, सार्वजनिक खर्च र प्रशासनिक कामकारबाहीमा पारदर्शिता तथा जवाफदेहिता कायम गर्न विवरण माग गरिएको रास्वपा गाउँपालिका समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *