सर्लाहीमा तस्करीको नयाँ शैली

Byसदाम हुसैन

२०८३ कार्तिक २१, शनिवार २०८३ कार्तिक २१, शनिवार २०८३ कार्तिक २१, शनिवार

सर्लाही, २१ कार्तिक । सर्लाहीमा सशस्त्र प्रहरीले मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र लुकाएर ल्याइएको १२९ बोतल प्रतिबन्धित लागुऔषध कोरेक्स बरामद गरेको छ ।

ब्रह्मपुरी गाउँपालिका-४ स्थित त्रिभुवननगरमा सहायक सीमा स्तम्भ नम्बर ३२४÷३ नजिक दशगजा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले उक्त लागुऔषध बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल, बीओपी त्रिभुवननगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक बलदेव राज पाण्डेको कमान्डमा खटिएको चार सदस्यीय मोटरसाइकल गस्ती टोलीले शुक्रबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०१ एफभी ३३३१ नम्बरको मोटरसाइकललाई रोक्ने प्रयास गरेको थियो ।

प्रहरीलाई देखेपछि चालकले मोटरसाइकल खोला किनारमा छाडेर भारततर्फ फरार भएका थिए । त्यसपछि मोटरसाइकल नियन्त्रणमा लिएर जाँच गर्दा पेट्रोल ट्याङ्कीभित्र लुकाएर राखिएका १०० एमएलका १२९ बोतल कोरेक्स फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद मोटरसाइकल र लागुऔषध आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *