सर्लाही, २४ कार्तिक । फ्रान्सले देशभरका करिब ७०० सुपरमार्केटको रेफ्रिजरेसन प्रणालीमा साइबर आक्रमण गरी खाद्य सामग्री बिगारेको आरोप इरानमाथि लगाएको छ ।
आक्रमणमा इरानको अर्धसैनिक इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध समूह संलग्न रहेको निष्कर्ष निकाल्दै फ्रान्सले जिम्मेवार व्यक्तिहरूमाथि युरोपेली प्रतिबन्ध लगाउने जनाएको छ ।
गत १२ अक्टोबरमा भएको आक्रमणका क्रममा करिब ६ घण्टासम्म फ्रिजको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको थियो । यसबाट फ्रान्सका १० हजारमध्ये करिब ७०० सुपरमार्केट प्रभावित भएका थिए ।
पसलहरूले ताजा तथा जमाइएका खाद्य सामग्री फाल्नुपरेको थियो भने इन्टरमार्च सुपरमार्केट समूहले एकै दिनमा दशौँ लाख युरो बराबरको नोक्सानी भएको जनाएको छ ।
फ्रान्सको राष्ट्रिय साइबर सुरक्षा निकाय एएनएसएसआईले ‘शाहीद काभेह’ समूहलाई आक्रमणको जिम्मेवार ठहर गरेको छ । पेरिसका अभियोजकहरूले सङ्गठित साइबर अपराधसम्बन्धी औपचारिक अनुसन्धान सुरु गरेका छन् ।
आक्रमणकारीले इरानमा रहेका उपकरण, फारसी भाषा र इरानसँग सम्बन्धित इन्टरनेट ठेगाना प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ ।
विदेशमन्त्री जीन–नोएल बारोटले इरानी राजदूतलाई बोलाएर घटनाप्रति कडा विरोध जनाइएको बताए । उनले आक्रमणले फ्रान्सको राष्ट्रिय हित र नागरिकको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गर्दै संलग्न व्यक्तिहरूमाथि प्रतिबन्ध लगाइने स्पष्ट पारे ।
अभियोजक लोरा बेकुआउका अनुसार आक्रमणकारी समूहका नेता, उनका दुई सहयोगी र अन्य सम्भावित संलग्न व्यक्तिमाथि अनुसन्धान भइरहेको छ । उनीहरूविरुद्ध अन्तर्राष्ट्रिय गिरफ्तारी वारेन्ट जारी गराउने तयारी छ ।
