सर्लाही, २४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई अमेरिकी पत्रिका टाइमको सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा समेटिएकोमा बधाई दिएको छ । रास्वपाले एक विज्ञप्ति जारी गर्दै डा. वाग्लेलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरेको हो ।
पार्टीले विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययता, नीतिनिर्माता तथा राजनीतिककर्मीका रूपमा सक्रिय वाग्लेले जलवायु न्याय, जलवायु वित्त परिचालन, स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेको छ ।
विशेषगरी रसुवा–भोटेकोसी बाढीपछि उनको नेतृत्वमा भएको विपत्पछिको आवश्यकता मूल्याङ्कन, जलवायु परिवर्तनमा नगण्य योगदान रहेका नेपालजस्ता देशले भोग्नुपरेको क्षतिबारे अन्तर्राष्ट्रिय मञ्चमा गरिएको पैरवी तथा हानि–नोक्सानीसम्बन्धी कोषबाट नेपाललाई सहयोग उपलब्ध गराउन गरिएको पहललाई पार्टीले उल्लेखनीय उपलब्धिका रूपमा व्याख्या गरेको छ ।
रास्वपाका अनुसार विपत्पछि तत्काल सहयोग आवश्यक परेका नागरिकका लागि अर्बौं रुपैयाँ बराबरको आर्थिक सहायता परिचालन गर्न पनि डा. वाग्लेले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
नेपालले जलवायु सङ्कटमा नगन्य योगदान गरे पनि यसको असर असमान रूपमा भोगिरहेको उल्लेख गर्दै पार्टीले हिमाली तथा पर्वतीय क्षेत्रको जोखिम, जलवायुजन्य विपत् र प्रभावित समुदायका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन वाग्लेले गरेको पैरवीले नेपालको आवाज विश्वसामु पुर्याउन योगदान गरेको जनाएको छ ।
