सर्लाही ,२६ कार्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका एकै गाउँका १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
प्राप्त विवरणअनुसार आज बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाही आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा ५ जना पुरुष, ३ जना महिला र २ जना बालिका रहेका छन् । त्यस्तै, घाइते हुनेमा ३ जना पुरुष र २ जना बालक रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका एकै गाउँका १० जनाले ज्यान गुमाउनुपरेको प्रारम्भिक विवरणले देखाएको छ ।
दुर्घटनाको थप विवरण तथा मृतक र घाइतेहरूको पहिचानबारे थप जानकारी आउन बाँकी छ ।
