सरकारसँग तीनबुँदे सहमति, १४ मृतकको शव सर्लाही ल्याइँदै

Byसदाम हुसैन

२०८३ कार्तिक २७, शुक्रवार २०८३ कार्तिक २७, शुक्रवार २०८३ कार्तिक २७, शुक्रवार

सर्लाही, २७ कार्तिक । मकवानपुरको भीमफेदीस्थित चिसापानीगढीमा भएको हायस दुर्घटनामा ज्यान गुमाएकाका परिवारले तीनबुँदे सहमतिपछि शव बुझ्न सहमति जनाएका छन् ।

चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवका अनुसार सङ्घीय तथा प्रदेश सरकारका प्रतिनिधिसहित भएको छलफलमा परिवारले राखेका तीन मागमा सहमति जुटेको हो । परिवारका सदस्यले अब शव बुझेर सर्लाही लैजाने तयारी गरेका छन् ।

“हामीले तीनबुँदे माग राखेका थियौँ । त्यसमा सहमति भएको छ । अब केहीबेरमा शव बुझेर सर्लाही हिँड्छौँ,” अध्यक्ष यादवले भन्नुभयो ।

सहमति अनुसार दुर्घटनाका दोषीलाई कारबाही गरिने, अभिभावक गुमाएका बालबालिकाको शिक्षादीक्षा तथा पालनपोषणको जिम्मेवारी राज्यले लिने र गाडीधनी तथा बीमा कम्पनीबाट प्राप्त हुने क्षतिपूर्ति रकममा थप रकम उपलब्ध गराइनेछ ।

दुर्घटनामा ज्यान गुमाएकाको शव हेटौँडास्थित सरकारी अस्पतालमा राखिएको छ । शव सर्लाही ल्याएर सामूहिक अन्त्येष्टि गर्ने तयारी गरिएको छ । मृतकको गाउँमा अन्त्येष्टिको तयारीका लागि स्थानीय जुटेका छन् ।

छठ पर्व मनाउन सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय हायस बिहीबार बिहान करिब पौने ६ बजे काठमाडौँ–कुलेखानी–भीमफेदी सडकखण्डको चिसापानीगढीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो । मृतकमध्ये १३ जना चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका हुनुहुन्छ ।

प्रहरीका अनुसार दुर्घटनामा हायस चालक सर्लाहीको कविलासी नगरपालिका–८, अगर्बाका ३० वर्षीय रवीशङ्करकुमार मण्डलसहित सुन्दरपुरका यात्रुको मृत्यु भएको हो ।

मृतकमा २८ वर्षीया पुनम यादव, उहाँका पाँच वर्षीया छोरी दीपिका, सात वर्षीया दीक्षा र १० वर्षीया अनुकुमारी, २६ वर्षीय विकेश यादव, १७ वर्षीय सुधेश यादव, ३५ वर्षीय गुड्डु यादव, ३२ वर्षीया गायत्री यादव, २६ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुवोध यादव, ३५ वर्षीय राकेश यादव र २८ वर्षीय छोटु राय भन्ने रामप्रसाद राय यादव रहेका छन् ।

दुर्घटनामा एकै परिवारका छ जना सदस्य गुमाएका अवधेश यादव अचेत भएपछि हेटौँडा अस्पतालमा भर्ना गरी उपचार गरिएको छ । उहाँकी आठ महिनाकी गर्भवती श्रीमती पुनम, तीन छोरी र दुई भाइको दुर्घटनामा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका सुन्दरपुरका तीन वर्षीय सुजन यादवलाई काठमाडौँ, ३१ वर्षीय देवेन्द्र यादवलाई भरतपुर र १४ महिनाका सुदीप यादवलाई काठमाडौँ रेफर गरिएको छ । ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र यादव उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक आशङ्का रहेको बताउनुभएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेको हायस बुधबार राति मात्रै सर्लाहीबाट यात्रु लिएर काठमाडौँ गएको थियो ।दुर्घटनामा एकै गाउँका १३ जनाको ज्यान गएपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ ।

छठ पर्वका कारण अन्यत्र उल्लास छाइरहँदा गाउँमा भने शोक र रुवाबासी छाएको छ । घटनापछि चक्रघट्टा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *