सर्लाही, २९ कार्तिक । भारत सरकारले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ । भारतको रेल मन्त्रालयले शनिबार नयाँ रेल सेवाको प्रस्तावलाई स्वीकृति दिएको हो ।

प्रस्तावित रेल सेवाले नेपालको जनकपुरधामदेखि भारतको अयोध्या क्यान्टसम्म करिब ६०४ किलोमिटर दूरी तय गर्नेछ । रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न महत्त्वपूर्ण शहर तथा बस्तीहुँदै यात्रा गर्नेछ ।

भारतीय रेल मन्त्रालयका अनुसार जनकपुरधाम र अयोध्या क्यान्ट अन्तिम स्टेसन रहनेछन् भने जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक प्रयोजनका लागि रेल रोकिनेछ ।

यो रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ । जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्ने व्यवस्था गरिएको भारतीय रेल मन्त्रालयले जनाएको छ ।

नयाँ रेल सेवाले नेपाल र भारतबीच सीमा पार आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ । विशेषगरी जनकपुरधाम र अयोध्याबीच धार्मिक यात्रा गर्ने तीर्थयात्री तथा पर्यटकलाई यसबाट प्रत्यक्ष लाभ पुग्नेछ ।

त्यसैगरी शिक्षा, व्यापार, व्यवसाय तथा पारिवारिक प्रयोजनका लागि दुवै देशबीच आवतजावत गर्ने यात्रुका लागि पनि रेल सेवा उपयोगी हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *