सर्लाही,चैत्र २० । मध्यपूर्वका देशहरुमा बढेको द्वन्द्वको असर नेपालका उद्योगहरूमा प्रत्यक्ष देखिन थालेको छ । प्लाष्टिकजन्य उद्योगहरूमा आवश्यक कच्चा पदार्थ सय प्रतिशतले बढेपछि करिब ‘सटडाउन’को अवस्थामा पुगेको उद्योगीहरूको भनाइ छ । कच्चा पदार्थको मूल्य बढेसँगै सहज पाउन पनि उस्तै समस्या परेको छ ।
‘सटडाउन’को अवस्थामा पुगेका उद्योगहरूले राखेका सयौँ कर्मचारी थेग्न जेनतेन उत्पादन गरे पनि थेग्नै नसक्ने लागत बढेपछि बजारमा घट्दो माग रहेकाले अन्यौलता बढेको बताउँछन् ।
प्लास्टिकजन्य उद्योगहरूमा कच्चा पदार्थको अभाव बढ्दै जाँदा उत्पादन घट्न थालेको छ । तनाव चर्किँदै गएपछि उद्योगलाई चाहिने कच्चा पदार्थ अभाव भएका कारण उत्पादन घट्नुका साथै केही उद्योग बन्द हुने अवस्थासम्म पुगेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा सय प्रतिशतसम्म वृद्धि भएको छ । नेपाली उद्योगले आयात गर्ने कच्चा पदार्थ मागअनुसार आपूर्ति हुन सकेको छैन । अहिले सबैभन्दा बढी प्लास्टिकजन्य उद्योगमा प्रयोग हुने कच्चा पदार्थ प्लास्टिक ‘दाना’को अभाव सुरु भएको छ ।
इरान, इजरायल र अमेरिकाबीच बढ्दो सैन्य तनावले भान्सादेखि उद्योगसम्म प्रभाव पारेको उद्योगीहरूको भनाइ छ । युद्धको असरले बुटवल औद्योगिक क्षेत्र, भैरहवा–परासी औद्योगिक कोरिडोर र नेपालगन्ज औद्योगिक क्षेत्रका उद्योगहरू ‘सटडाउन’ हुने अवस्थामा पुगेका छन् । आवश्यक कच्चा पदार्थको अभावसँगै मूल्यमा अस्वाभाविक वृद्धि भएकाले ग्राहकले खरिद गर्न नसक्ने अवस्था आएको उद्योगीहरूको भनाइ छ ।
बुटवल औद्योगिक क्षेत्रस्थित युनाइटेड प्लास्टिक उद्योगका सञ्चालक तुलसी गुरुङले अब उद्योग बन्द गर्नुबाहेक विकल्प नरहेको बताए । ‘दिनहुँ कच्चा पदार्थको मूल्य बढेर आएको छ । सय प्रतिशत बढेको मूल्यमा पनि पाउन कठिन छ । अब ग्राहकले कसरी लिन सक्छन् रु यो यहाँको समस्या मात्र होइन । उत्पादन नै भएको छैन । भएको पनि बिक्री छैन,’ उनले भने ।
बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवालले पहिलो चरणमै प्लास्टिकजन्य उद्योग अप्ठ्यारोमा परिसकेको बताए । ‘प्लास्टिकजन्य कच्चा पदार्थमा सय प्रतिशतसम्म मूल्यवृद्धि भयो । कम्पनीसँगको सम्झौताअनुसार कच्चा पदार्थ दिन सकिँदैन भनेर म्यासेज आएका छन्,’ अग्रवालले भने, ‘बढेको मूल्यमा पनि कच्चा पदार्थ अब नपाइन सक्छ भनेर सूचना पनि आइरहेका छन् । यसले झनै अन्योल र अप्ठ्यारो बनाएको छ ।’
प्लास्टिकजन्य दाना नपाउँदा प्याकेजिङ क्षेत्रमा ठूलो सङ्कट आउने उनले बताए । यही अवस्था दुई हप्ता लम्बिए नेपालका धेरैजसो उद्योग बन्द हुने अवस्थामा पुग्ने अग्रवालको भनाइ छ । युद्ध तीन देशमा मात्र सीमित नरही खाडी मुलुकमा समेत फैलिएको उद्योगीहरूको भनाइ छ ।
युद्धको असरले नेपाली बजारमा इन्धन र ग्यासको आपूर्तिमा समेत समस्या देखिन थालेको छ । भारतीय आपूर्तिकर्ता कम्पनीहरूले नेपाली उद्योगहरूको अर्डर लिन छाडेका छन् । भारत र तेस्रो मुलुकबाट नेपाल आउने कच्चा पदार्थ ढुवानी गर्ने कम्पनीहरूले पनि पठाउन नसक्ने बताइरहेका छन् ।
औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान आयात गर्न उद्योगी व्यवसायीले पछिल्लो समय नयाँ एलसी समेत खोलेका छैनन् । कोहिनुर प्लास्टिक इन्डस्ट्रिज प्रालि, रुपन्देहीका सञ्चालक सुमन बस्यालले प्लास्टिकजन्य दानाको मूल्य सय प्रतिशतसम्म बढ्दा उद्योगीहरू अप्ठ्यारोमा परेको बताए ।
‘प्लास्टिक दाना सय प्रतिशत बढेको छ । उत्पादन त जेनतेन भइरहेको छ । अब कसरी जाने भन्ने अन्योलमा छ,’ बस्यालले भने ।
उनले पेट्रोलियम बाइ–प्रोडक्ट्सको मूल्य वृद्धि र प्याकेजिङ कार्टुनको मूल्य बढ्दा उद्योग सञ्चालन झनै कठिन भएको बताए ।
‘पेट्रोलियम बाइ–प्रोडक्ट्सहरूको धेरै मूल्य बढेको छ । सँगै प्याकेजिङ कार्टुनको मूल्य पनि धेरै वृद्धि भएको छ । यसले नेपालको औद्योगिक आपूर्ति प्रणालीमा ठूलो असर पारिसकेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल तथा प्राकृतिक ग्यासको मूल्य वृद्धि हुँदा सबै उपभोग्य वस्तुमा महँगी बढ्न थालेको छ । प्लास्टिक उद्योग त चल्नै नसक्ने अवस्थामा पुगिसके,’ उनले भने ।
नेपाली उद्योगीहरूले भारतको रिलायन्स र भारतीय आयल कर्पोरेसनबाट प्लास्टिकका दाना खरिद गर्ने गर्छन् । अधिकांश कच्चा पदार्थ भारत हुँदै आउने भएकाले अन्य देशबाट ल्याउने विकल्प सीमित रहेको उद्योगीहरूको भनाइ छ ।
खाडी राष्ट्रलाई तेलको भण्डारका रूपमा लिने गरिन्छ । विश्वको झन्डै एक तिहाइ पेट्रोलियम पदार्थको माग खाडी मुलुकले धानेका छन् । तेल उत्पादक मुलुक युद्धमा होमिँदा पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध सिर्जना भई मूल्यवृद्धि भएको हो । अहिले अधिकांश उद्योगलाई चाहिने केमिकलजन्य वस्तुहरू आउन सकेका छैनन् ।
नेपालगन्ज औद्योगिक क्षेत्रका उद्योगी शरद रिजालले भारतले निर्यातमा रोक लगाएपछि उद्योगीहरू ‘सटडाउन’ को अवस्थामा पुगेको बताए । ‘भारतले नोटिस निकालेर आफ्ना उत्पादन र कच्चा पदार्थ निर्यातमा रोक लगाएपछि उद्योगीहरू सटडाउनको अवस्थामा पुगेका छन् । नेपाल मात्र नभई धेरै देशको औद्योगिक क्षेत्रको अवस्था भयावह हुने देखिन्छ,’ उनले भने ।
दक्षिण कोरिया, बैंकक र भियतनामबाट पनि कच्चा पदार्थ आयात हुँदै आएको उनले बताए । नेपालका ठूला उद्योगहरू नारायणी पश्चिम, रूपन्देही, नवलपरासी र नेपालगन्ज क्षेत्रमा सञ्चालित छन् । बेलहिया नाका र अन्तर्राष्ट्रिय बजारको पहुँच सहज भएकाले निजी क्षेत्रले पश्चिम तराईमा ठूलो लगानी गरेर उद्योग सञ्चालन गरेका छन् ।
बेलहिया र नेपालगन्ज भन्सार बिन्दुबाट आयातमा समेत कमी आउन थालेको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले कच्चा पदार्थ घट्न सक्ने सम्भावना देखिएको बताए । ‘हाम्रो नाकाबाट आउने भारतीय सामान धेरै हुन्छ । तेस्रो मुलुकबाट आउने सामान वीरगञ्जबाट धेरै आउँछ । अहिले बाटोमा भएका सामान आइरहेका छन् । त्यसैले तथ्याङ्कमा कमी देखिएको छैन । उद्योगी व्यवसायीको भनाइ अनुसार अब घट्न सक्ने सम्भावना भने देखिन्छ,’ उनले भने ।
भैरहवा भन्सार नेपालको मुख्य अन्तर्राष्ट्रिय व्यापार तथा पारवहन नाका हो। देशको कुल भन्सार राजस्वको करिब २५ प्रतिशत राजस्व यस भन्सार कार्यालयबाट संकलन हुने गर्दछ ।
नेपाल उद्योग परिसंघ लुम्बिनीका उपाध्यक्ष बाबुराम बोहराले पश्चिम एसियामा बढेको युद्धको असरले बुटवल औद्योगिक क्षेत्र, भैरहवा–परासी औद्योगिक कोरिडोरलगायतका क्षेत्रका उद्योगहरूमा कच्चा पदार्थ अभाव देखिन थालेको बताए । उनले उद्योगमा कच्चा पदार्थ महँगो हुँदा उत्पादन लागत बढ्ने र मूल्यवृद्धि हुने तर कच्चा पदार्थ नै आउन नसकेपछि उद्योग बन्द गर्नुको विकल्प नरहेको बताए ।
‘अहिले बढी प्लास्टिक उद्योगको कच्चा पदार्थमा समस्या देखियो, धेरै मूल्यवृद्धि भयो, पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अर्को समस्या छ, अब सबैतिर ठूलो मूल्यवृद्धि भइसकेको छ’ उनले भने ।
