सर्लाही, २३ चैत । सरकारी कार्यालयहरूमा बिचौलियामाथि भइरहेको धरपकडको विरोध गर्दै पर्साका लेखापढी व्यवसायीहरूले जिल्लाभर अनिश्चितकालीन हड्ताल सुरु गरेका छन् ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा आजदेखि मालपोत, नापी, भूमिसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालयमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरूले कामकाज पूर्ण रूपमा ठप्प पारेका हुन् ।
एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादवका अनुसार पछिल्लो समय बिचौलियाको आरोप लगाउँदै गरिएका पक्राउ तथा कारबाहीप्रति असन्तुष्टि जनाउँदै आन्दोलन थालिएको हो । विशेषगरी पोखरिया मालपोत कार्यालयबाट तीन जना पक्राउ परेपछि व्यवसायीहरू थप आक्रोशित बनेका छन् ।
उनीहरूले कानुनी प्रक्रिया पूरा गरेर सञ्चालनमा रहेका भू-सेवा केन्द्र र लेखापढी व्यवसायीमाथि अन्यायपूर्ण रूपमा कारबाही गरिएको आरोप लगाएका छन् । पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्नुपर्ने मागसहित सरकार र प्रहरी प्रशासनको कदमप्रति व्यवसायीहरूले कडा आपत्ति जनाएका छन् ।
एसोसिएसनका अनुसार पर्सा जिल्लामा हाल १ सय २१ वटा भू-सेवा केन्द्र र ४ सयभन्दा बढी लेखापढी व्यवसायी सक्रिय रहेका छन्। हडतालका कारण सेवाग्राहीहरू प्रभावित भएका छन् भने सरकारी कार्यालयहरूको कामकाजसमेत प्रभावित बनेको छ ।
