सर्लाही, ०९ बैशाख । प्रतिनिधि सभामा अब प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था हुने प्रस्ताव अघि सारिएको छ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदन सभामुख डीपी अर्याल समक्ष पेश गर्दै सो व्यवस्था समावेश गरिएको जानकारी दिएको हो ।
प्रस्तावित प्रावधान अनुसार प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा सांसदहरूले प्रश्न उठाउन सक्नेछन् । त्यसका लागि प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको एक घण्टा समय छुट्याइने व्यवस्था गरिएको छ । उक्त दिन बैठक बस्न नसकेमा त्यसपछिको पहिलो बैठकमा एक घण्टाको समय प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि तोकिने उल्लेख छ ।
नियमावली अनुसार उठाइएका प्रश्नको जवाफ प्रधानमन्त्रीले सोही सदनमा तत्काल दिनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
यस व्यवस्थाले सरकार प्रमुखलाई संसद्प्रति प्रत्यक्ष रूपमा उत्तरदायी बनाउने उद्देश्य राखिएको मस्यौदामा उल्लेख छ । प्रधानमन्त्री बनेपछि वालेन्द्र शाह (बालेन)हालसम्म संसदमा उपस्थित नभएको सन्दर्भमा यो व्यवस्था महत्वपूर्ण मानिएको छ ।
