हुकिङ लगाएर चलाएको फेला पारिएपछि बरामद गरिएको विद्युतीय उपकरण ।

सर्लाही, ०९ बैशाख । नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण अभियानलाई जारी राखेको छ ।

अभियान अन्तर्गत मङ्गलबार जिल्लाको दक्षिण–पश्चिम भेगका आधा दर्जन बढी गाउँबाट विद्युत् चोरी गरी अर्थात हुकिङ लगाएर चलाइएका विद्युतीय उपकरण बरामद गरिएको वितरण केन्द्र प्रमुख माधवेन्द्र यादवले जानकारी दिनुभयो । 

यादवका अनुसार विद्युत् चुहावट नियन्त्रण टोलीले सिसौट, बेल्वा, गोडैता, बकैनिया, रोहुवा, भवतीपुर, सोनारटोल, बहादुरपुर लगायत गाउँमा डाइरेक्ट हुकिङ लगाएर सञ्चालन गरिएको उपकरणहरू बरामद गरेको हो । 

बरामद गरिएको उपकरणहरूमा ११ थान मोटर, एक थान पङ्खा र एक थान भाइब्रेटर मेसिन रहेका छन् । मलंगवा वितरण केन्द्रले दक्षिण–पूर्वी भेगमा हुकिङ नियन्त्रण अभियान सकेर पश्चिमतर्फको गाउँहरूमा अभियान सञ्चालन गर्न सुरु गरेको वितरण केन्द्र प्रमुख यादवले बताउनुभयो । 

मलंगवा वितरण केन्द्रमा अहिले पनि ४५ प्रतिशत विद्युत् चुहावट रहेको छ । चुहावट नियन्त्रण अभियान अन्तर्गत पाँच महिनाको अवधिमा ३५ जना ग्राहकको लाइन काटिएकोमा २२ जना मात्र सम्पर्कमा आएर नियम अनुसार लाइन जोडे पनि अन्य ग्राहक सम्पर्कमै आएका छैनन् ।

ग्राहकसहित २०७५ देखि २०८० सालसम्म विद्युत् महशुल नबुझाएका र सम्पर्कमा पनि नआएका एक हजार ८०० ग्राहकको अवस्था बुझ्न बेग्लै टोली परिचालन गरिएको वितरण केन्द्र प्रमुख यादवले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *