सर्लाही, ०९ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष तथा सांसद महन्थ ठाकुरले नेपाल–भारत सीमा क्षेत्रमा सरकारले सर्वसाधारणलाई अपराधी जस्तो व्यवहार गर्न बन्द गरिनुपर्ने बताएका छन् ।

राष्ट्रियसभा अन्तर्गतको ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ठाकुरले सीमा क्षेत्रमा गरिएको अनावश्यक कडाइले मधेश र सिमाना आसपासका नागरिकले दैनिक सास्ती भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

‘सीमा क्षेत्रमा बसोबास गर्ने मधेशी जनताको जनजीवन र दैनिकी प्रत्यक्ष रूपमा पारिको बजारसँग जोडिएको छ,’ ठाकुरले भने, ‘तर, अहिले सिमानामा गरिएको कडा जाँच र निगरानीले गर्दा आम नागरिकले पाइला–पाइलामा सास्ती खेप्नुपरेको छ । सर्वसाधारणलाई अपराधी जस्तो व्यवहार गर्न बन्द गरिनुपर्छ ।’

ठाकुरले नेपाल र भारतबीचको खुल्ला सिमाना र सदियौँदेखिको सामाजिक, सांस्कृतिक तथा रोटी–बेटीको सम्बन्धलाई सुरक्षा वा भन्सारको नाममा प्रभावित पार्न नहुने बताए ।

उनले घरायसी प्रयोजन र दैनिक उपभोग्य सामान किनमेलका लागि सीमा वारपार गर्ने सर्वसाधारणलाई सुरक्षाकर्मीबाट अनावश्यक दुःख दिने काम भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । 

उनले आगामी आर्थिक वर्षको बजेटमा मधेशलाई उपेक्षा नगर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *