सर्लाही, २१ बैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आगामी सातौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी निर्वाचन तयारी समितिले उम्मेदवारका लागि कडा ‘प्रचार प्रसार आचार संहिता– २०८३’ सार्वजनिक गरेको छ ।
महासङ्घको केन्द्रीय कार्यालयबाट जारी गरिएको उक्त आचार संहिताले चुनावी प्रचार प्रसारलाई व्यवस्थित, कम खर्चिलो र मर्यादित बनाउने उद्देश्य राखेको हो ।
आचार संहिताको पहिलो बुँदामा कुनै पनि प्रकारका भौतिक वा डिजिटल पर्चा, पम्पलेट र ब्यानरहरूको प्रकाशन तथा वितरणमा पूर्ण रूपमा रोक लगाइएको छ । यसअघिका निर्वाचनमा हुने तडकभडक र फोहोरलाई नियन्त्रण गर्न महासंघले यस्तो कदम चालेको हो ।
यस्तै, उम्मेदवारले आफ्नो प्रचारका लागि फोटोसहितको परिचय खुलाउने कार्ड भने प्रयोग गर्न पाउनेछन् । तर, यसका लागि पनि निश्चित आकार तोकिएको छ । आचार संहिता अनुसार उम्मेदवारले ए फोर साइज बराबरको फोटोसहितको परिचय पत्र वा सामान्य ‘भिजिटिङ कार्ड’ को साइजमा फोटोसहितको परिचय कार्ड मात्र छपाई र वितरण गर्न पाउनेछन् ।
महासंघले पछिल्लो समय सामाजिक सञ्जालको दूरुपयोग रोक्दै सामाजिक सञ्जाललाई शिष्ट, सभ्य र मर्यादित रूपमा मात्र प्रयोग गर्न पाइने उल्लेख गरेको छ । निर्वाचन तयारी समितिले उक्त आचारसंहितालाई सबै उम्मेदवारले अक्षरसः पालना गर्न निर्देशन दिएको छ ।
महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन आगामी बैशाख २७ देखि २९ गतेसम्म पर्यटकीय नगरी पोखरामा हुने भएको छ ।
