सर्लाही, २७ बैशाख । देशभरका १३० भन्दा बढी अस्पतालहरूमा झण्डै ३२ सय निःशुल्क बेड खाली रहेको पाइएको छ । सरकारको निर्देशनपछि अस्पतालहरूले विपन्न, असहाय र बेवारिसे बिरामीका लागि छुट्याइएको १० प्रतिशत निःशुल्क बेडमध्ये झण्डै ३२ सय बेड खाली रहेका हुन् ।
अस्पतालहरूले छुट्याएको निःशुल्क बेडहरूबारे जानकारी उपलब्ध गराउने गरी स्वास्थ्य मन्त्रालयले सञ्चालनमा ल्याएको निःशुल्क स्वास्थ्य पोर्टलका उल्लेख भएअनुसार अहिलेसम्म १३० भन्दा बढी अस्पतालहरूले ३ हजार ३३५ बेड निःशुल्क छुट्याएका छन्, जसमध्ये १५७ बेड मात्रै प्रयोगमा रहेका छन् भने ३ हजार १८४ बेड खाली रहेका छन् ।
वीर र थापाथली अस्पतालमा सबैभन्दा धेरै बेड खाली
पोर्टलमा उपलब्ध जानकारीअनुसार सबैभन्दा धेरै वीर अस्पताल र थापाथली अस्पतालमा बेडहरू खाली रहेका छन् । वीर अस्पतालमा ३९६ निःशुल्क बेड खाली रहेको छ भने थापाथली अस्पतालमा ३५८ बेड खाली छन् ।
त्यसपछि पर्साको नारायणी अस्पतालमा २६१ बेड खाली रहेको छ भने पोखरा एकेडेमी अफ हेल्थ साइन्समा पनि २२८ निःशुल्क बेड खाली नै रहेको जानकारी अस्पतालले पोर्टलमा उपलब्ध गराएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा १८० निःशुल्क बेड खाली रहेको छ भने कैलालीको सेती जिल्ला अस्पतालमा पनि १२० वटा निःशुल्क बेड खाली छ ।
यसका साथै नेपाल मेडिकल कलेज काठमाडौंदेखि चिवन मेडिकल कलेज, वीएन्डसी झापालगायतका १३० भन्दा बढी अस्पतालहरूले छुट्याएको निःशुल्क बेडमध्ये धेरैजसो खाली नै रहेका छन् ।
निजी अस्पतालले पनि सार्वजनिक गर्न थाले निःशुल्क बेडको विवरण
सरकारले २०७७ सालमै ऐनमार्फत देशका सबै अस्पतालहरूले १० प्रतिशत बेड विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि छुट्याउनुपर्ने नियम ल्याएको थियो ।
निजी अस्पतालले यो सुविधा नदिएपछि निःशुल्क उपचार गर्नुपर्ने बिरामीको चाप र भार सरकारी अस्पतालमा मात्रै पर्दै आएको थियो । तर, वालेन्द्र शाह प्रधानमन्त्री भएलगत्तै सयदिने कार्यसूचीमा नै यो विषयलाई समावेश गरेर अघि बढेपछि कार्यान्वयनमा आउन थालेको हो ।
पछिल्लो समय निजी अस्पतालहरूले पनि विपन्न, असहाय र बेवारिसे बिरामीका लागि छुट्याइएको १० प्रतिशत निःशुल्क बेडको ताजा अवस्था अनलाइन पोर्टलमार्फत सार्वजनिक गर्न थालेका छन् ।
