सर्लाही, २९ बैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटको सन्दर्भमा अन्तिम समय, १४ जेठसम्मै उचित सल्लाह सुझाव दिन सकिने बताएका छन् ।
समयका हिसाबले बजेट निर्माणको सेडुलमा निकै चाप परेपनि सरकारले सरोकारवाला निकाय, विज्ञ, सांसदहरूको सुझाव निरन्तर लिने बताउँदै अर्थमन्त्री वाग्लेले ती सुझावहरू बजेटमा समेट्न हदैसम्मको प्रयत्न गरिने पनि बताए ।
मंगलबार अर्थ समितिमा बजेट निर्माणका सन्दर्भमा सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा सांसदहरूले राखेको सवालमा अर्थमन्त्री वाग्लेले भने, ‘जेठ १५ को अपराह्न बजेट पेस हुन्छ, जेठ १५ को मध्यरातसम्म पनि हामी बजेट लेखिरहेका हुन्छौँ । २, ३, ४ बजेतिर अर्थमन्त्री सुत्न जान्छन् ।
त्यसपछि बजेटको प्रतिवेदन छापिन जान्छ । जेठ १५ को दिउँसो किन बजेट सार्जजनिक हुन्छ ? भनेको अर्थमन्त्री बिचरोले २–३ घण्टा भने पनि सुतोस् भनेर राखिदिएको हो ।’
यो टाइमलाइनमा अत्यन्त उदार भएर सबै सांसदहरूको माग र सुझावलाई सम्बोधन गरेर बजेट निर्माण गर्ने पक्षमा सरकार रहेको उनले बताए । ‘यसपालि बजेट निर्माणमा चाप परेकै हो, बजेटको प्रक्रिया सुरु भइसकेपछि मात्र हामी आयौँ ।
फागुन १९ भन्दा अघिनै बजेटको सिलिङ पठाइसकिएको थियो । हामी त चुनाव लड्दै थियौँ, त्यतिबेला । सरकार बनेर आउँदा चैतको मध्य मध्यतिर आइसकेको थियो ।
त्यसैले बजेट निर्माणको सन्दर्भमा स्पेस कम भएको हो’ अर्थमन्त्री वाग्लेले भने, ‘तर, सरकारले प्राप्त स्पेसलाई बढीभन्दा बढी उपयोग गर्दै सबैको सल्लाह सुझाव बजेटमा समेट्ने गरी अघि बढेको छ ।’
यसै अवसरमा अर्थमन्त्री वाग्लेले रास्वपा नेतृत्वको सरकारले चुनाव अघि गरेको प्रतिवद्धता वाचापत्र अनुसार नै बजेटमा केन्द्रित हुने बताए ।
वाचापत्र, सरकार गठनपछि सार्वजनिक भएको एक सय रणनीति र नीति तथा कार्यक्रममा समेत एक सयबुँदामै कार्यक्रम समेटिएको बताउँदै वाग्लेले सो कार्यान्वयमा सरकार कटिवद्ध रहने बताए ।
‘वैशाख ३१ गते बजेटको सिद्धान्त तथा प्राथमिकता आउँदैछ, बजेट कुन सिद्धान्तमा टेकेर आउँदैछ, त्यसमा पनि हामीले वाचापत्रमा उल्लेख गरे अनुसारनै कार्यक्रमहरू ल्याउने छौँ,’ वाग्लेले भने ।
