सर्लाही, १२ जेठ । इन्दुशंकर चिनी उद्याेग हरिवनले चालु २०८२/०८३ सिजनमा क्रसिङ गरेकाे उखुकाे सम्पूर्ण भुक्तानी गरेकाे छ ।

चालु सिजनमा क्रसिङ गरिएकाे सम्पूर्ण उखुकाे भुक्तानी किसानकाे खातामा पठाइसकिएकाे उद्याेगका प्रशासकीय प्रबन्धक ठाकुर प्रसाद नेपालले जानकारी दिए । २०८२ पुस ७ गतेबाट सञ्चालनमा आएकाे उद्याेग २०८२ चैत २६ गते बन्द भएकाे थियाे ।

यसवर्ष ३२ लाख ९३ हजार १२३ क्विण्टल ७९ किलाे उखु क्रसिङ भएकाे र त्यसबापत किसानलाई उद्याेगले दिनुपर्ने दुई अर्ब दुई कराेड १८ लाख ६४ हजार १६९ रुपैंया भुक्तानी गरिएकाे नेपालले जानकारी दिए ।

इन्दुशंकरकाे तुलनामा अत्यन्त न्यून उखु क्रसिङ गरेका जिल्लाकै बगदहस्थित महालक्ष्मी सुगर मिल र धनकाैलस्थित अन्नपूर्ण सुगर मिलले भने किसानकाे भुक्तानी सकेकाे छैन ।

किसानलाई चाँडाे भुक्तानी गर्ने प्रकृयामा इन्दुशंकर मुलुकभरकै चिनी उद्याेगहरु मध्ये राम्राे रहेकाे किसानहरुकाे भनाई छ ।

त्यसैले दक्षिणी क्षेत्रका किसानहरु पनि नजिकैकाे महालक्ष्मी र अन्नपूर्ण भन्दा इन्दुशंकरमै उखु दिन मारामार गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *