सर्लाही, १२ जेठ । सर्लाहीको पर्सा गाउँपालिका–२ संग्रामपुरस्थित नेपाल–भारत सीमा क्षेत्रको दशगजामा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम डीएसपी सरोज राईका अनुसार सोमबार दिउँसो करिब ४ बजे सीमा स्तम्भ नम्बर ३१७/२ देखि करिब ५० मिटर पूर्वतर्फ दशगजाको डिलमा नेपालतर्फ अन्दाजी ५० वर्ष उमेरका पुरुषको शव फेला परेको हो ।
मृतकको नाम, थर खुल्न सकेको छैन । प्रहरीका अनुसार घटनास्थलमा बोराको झोलाभित्र मदिरा र केही भारतीय रकम समेत भेटिएको छ ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
